एजेन्सी, २७ भदौ । साउदी अरबको महत्त्वपूर्ण ‘ईस्ट–वेस्ट’ तेल पाइपलाइनमा बिहीबार ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ ।
आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेसनमा आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन् ।
अमेरिकी अधिकारीहरूका अनुसार पाइपलाइन प्रणालीमा क्षेप्यास्त्र वा ड्रोनबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । एक अमेरिकी अधिकारीले आक्रमणमा प्रयोग भएका ड्रोन इराकबाट आएको हुन सक्ने बताएका छन् । यद्यपि आक्रमणको जिम्मेवारी कसले लिएको भन्ने तत्काल स्पष्ट भएको छैन ।
साउदी ऊर्जा मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा पाइपलाइनमा ‘धेरैपटक आक्रमण’ भएको र त्यसबाट केही मानिस घाइते भएको जनाएको छ । सुरक्षाका लागि पाइपलाइन बन्द गरिएको तथा त्यसको अवस्था मूल्याङ्कन गर्न र आवश्यक सुरक्षा उपाय अपनाउन टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
साउदी विदेश मन्त्रालयले पनि रियाद र मदिना क्षेत्रमा रहेको ईस्ट–वेस्ट पाइपलाइनमा इराकबाट आएका धेरै ड्रोनले आक्रमण गरेको पुष्टि गरेको छ । आक्रमणबाट केही मानिस घाइते हुनुका साथै भौतिक क्षति भएको र क्षतिको मर्मत भइरहेको मन्त्रालयले जनाएको छ ।






