एजेन्सी, २६ भदौ । अल्जेरियाले बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सँगको कूटनीतिक सम्बन्ध पूर्ण रूपमा विच्छेद गरेको घोषणा गरेको छ ।
अल्जेरियाली विदेश मन्त्रालयले यूएईका ‘उत्तेजक र शत्रुतापूर्ण गतिविधि’का कारण द्विपक्षीय सम्बन्ध जोगाउने सबै प्रयास असफल भएपछि सम्बन्ध विच्छेद गर्ने निर्णय गरिएको जनाएको छ ।
निर्णयसँगै अल्जेरियाले यूएईका राजदूतलाई ४८ घण्टाभित्र देश छाड्न निर्देशन दिएको छ । सम्बन्ध विच्छेदसँगै अल्जेरियाको रक्षा मन्त्रालयले शुक्रबारदेखि लागु हुने गरी यूएईमा दर्ता भएका सबै नागरिक तथा सैन्य विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।
यद्यपि, अल्जेरियामा उडान गर्ने र त्यहाँबाट फर्किने यूएईका व्यापारिक नागरिक उडानलाई भने सन् २०२६ को अन्त्यसम्म, अर्थात् विद्यमान सम्झौताको अवधि समाप्त नभएसम्म, सञ्चालन गर्न दिइनेछ ।
अल्जेरियाली विदेश मन्त्रालयले यूएईलाई पटक–पटक चेतावनी दिए पनि उसले अवाञ्छित गतिविधि जारी राखेकाले स्थिति सीमाभन्दा बाहिर पुगेको जनाएको छ ।
यूएईको विदेश मन्त्रालयले भने अल्जेरियाको निर्णय अस्थायी रहने आशा व्यक्त गरेको छ । उसले अल्जेरियाली जनतासँगको भ्रातृपूर्ण सम्बन्ध र त्यहाँका नागरिकप्रति आफ्नो उच्च सम्मान रहेको जनाएको छ ।
यूएईका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवार गर्गासले सामाजिक सञ्जाल ‘एक्स’मा अल्जेरियाको नाम प्रत्यक्ष रूपमा उल्लेख नगरी कूटनीतिक सम्बन्ध ‘कठिन समस्या र संकेतहरू डिकोड गर्ने’ विषय नभई ‘तार्किकता, सञ्चार र स्पष्ट हितहरूमा’ आधारित हुनुपर्ने टिप्पणी गरेका छन् ।
अल्जेरिया र यूएईबीच उत्तरी तथा पश्चिमी अफ्रिकामा यूएईको बढ्दो प्रभावलाई लिएर वर्षौंदेखि कूटनीतिक खिचातानी चल्दै आएको थियो ।
अल्जेरियाले यूएईमाथि उत्तर अफ्रिका तथा साहेल क्षेत्रमा लिबिया, माली र सुडानजस्ता देशलाई अस्थिर बनाउने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । डीडब्ल्यू






