काठमाडौँ, ३० जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जंगली जनावरका कारण किसानले भोगिरहेको समस्या समाधानका लागि नयाँ ढङ्गले सोच्नुपर्ने बताएका छन् ।
आज सामाजिक संजाल फेसबुकमा लेख्दै उनले जंगली जनावरले कृषि बालीमा पुर्याएको क्षति देखाएर किसानहरू आक्रोश र पीडामा रहेको दृश्यले सबैलाई उद्वेलित बनाइरहेको बताए ।
उनले भने, “अब नयाँ ढंगले सोचौं, यतिवेला किसानहरु जंगली जनावरले पुर्याएको कृषिवालीको क्षति देखाएर रोइरहेको आक्रोस पोखिरेहो दृष्यले सबैलाई उद्देलित बनाइरहेको छ । तर राज्यका निकायहरु अभिसन्धी र कानूनका कारणले ती दृष्यवाट विमुख भइरहेका छन् । तर यस्तो लाचारी कहिलेसम्म ?
अन्तरार्ष्ट्रिय अभिसन्धि र कानुनको बहाना देखाएर किसानलाई आफ्नै थातथलो र खेतीपातीबाट बेदखल गर्ने काम न्यायोचित होइन। बाँदर, बँदेल र दुम्सीको आतङ्कले कृषिकर्ममा आश्रित किसानहरु विस्थापित भइरहेका छन्। प्रकृति र मानवबीच सन्तुलन चाहिन्छ, तर मान्छेकै उठिबास लाग्ने गरी होइन! अब ढिला नगरौँ, सर्वदलीय बैठक बोलाएर एउटा ठोस राष्ट्रिय दृष्टिकोण बनाऔँ । संरक्षण क्षेत्रभित्र संरक्षण गर्नुपर्ने सबै प्रकारका पशुपन्छीको संरक्षणमा विशेष जोड देउ । आवश्यक पर्छ भने संरक्षण क्षेत्र समेत विस्तार गरौ । तर कृषिक्षेत्रका लागि भिन्न नीति बनाऔं । कृषि उत्पादन र किसानलाई संरक्षण गरौँ। उनीहरुका लागि पनि संरक्षणकारी नीति र क़ानून निर्माण गरौ । अब त निकै ढिला भइ सक्यो ।”






