काठमाडौँ, २० जेठ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा गम्भीर धक्का र पराजय व्यहोरेको बताएका छन् ।
आज काठमाडौँमा केन्द्रीय सङ्गठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले नेपाली कम्युनिस्ट आन्दोलनले ठूलो क्षति भोगेको बताए । उपाध्यक्ष पौडेलले वि.सं. २००६ सालदेखि हालसम्मको इतिहासलाई मूल्यांकन गर्दा अहिलेको अवस्था सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गरे ।
उनले भने, “स्वाभाविक रूपमा यतिबेला नेपालको कम्युनिस्ट आन्दोलनले एउटा गम्भीर धक्काको सामना गरेको छ । खासगरी भदौ २३–२४ हुँदै फागुन २१ को निर्वाचनसम्म आइपुग्दा हामीले धेरै ठूलो धक्का र क्षति व्यहोरेका छौँ । हाम्रो आन्दोलनले निकै ठूलो क्षति व्यहोरेको छ । कतिपय मानिसहरूलाई लागेको छ कि अब यो आन्दोलन उठ्न सक्दैन, नेपालको कम्युनिस्ट आन्दोलन सदा–सदाका निम्ति समाप्त भएर जान्छ । कतिपयले यस्तो अनुमान गरेका छन् भने कतिपयले त्यस प्रकारको कामना पनि गरेका छन् ।, म यहाँहरूसँग विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु- हो, हाम्रो आन्दोलनले धेरै ठूलो धक्का व्यहोरेको छ । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासलाई २००६ सालदेखि आजसम्म समग्र रूपमा मूल्यांकन गर्ने हो भने, यो धक्का इतिहासकै सबैभन्दा ठूलो धक्का हो । यो पराजय इतिहासकै सबैभन्दा ठूलो पराजय हो । तर, म कमरेडहरूसँग आग्रह गर्न चाहन्छु कि हामी यो धक्कालाई चिर्नेछौँ, यो असफलताबाट शिक्षा लिनेछौँ र फेरि उठ्नेछौँ । हामी धुलो टकटकाउनेछौँ र अगाडि बढ्नेछौँ । हामी जनतातिर फर्किएर, कार्यकर्तातिर फर्किएर र देशको समग्र राष्ट्रिय हिततर्फ उन्मुख हुँदै नयाँ ऊर्जा र दृढताका साथ अघि बढ्नेछौँ ।”





