काठमाडौँ, ७ जेठ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा गोरखाको बारपाक सुलिकोट स्थायी घर भई हाल काठमाडौँ–२६ बस्ने ३० वर्षीय दिपेश गुरुङ र २४ वर्षीय सौगात गुरुङ रहेका छन् । उनीहरूले टर्की पठाइदिने भन्दै ८ जना पीडितहरूबाट कुल ८६ लाख २२ हजार ५७० रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई जेठ ५ गते काठमाडौँको सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको हो ।
त्यसैगरी, साइप्रस पठाइदिने भन्दै एकजना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पाँचथर फिदिमका ४८ वर्षीय सूर्य प्रकाश खेजुम पक्राउ परेका छन् । उनलाई ललितपुरको गोदावरीबाट नियन्त्रणमा लिइएको हो ।
लिथुआनिया पठाइदिने भन्दै १ लाख ९३ हजार रुपैयाँ ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोक भुम्लुकी ३३ वर्षीया शान्ति श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।






