काठमाडौँ, १० पौष । हिन्दुहरुको महान चाड वडादशैंमा विद्यार्थीहरुलाई टिका र जमराको साथै नगद दक्षिणा दिएर दशैं मनाएको सुविधानगर तिनकुनेको ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलले इशाईहरुको ठुलो चाड क्रिसमस पनि भव्यरुपमा मनाएको छ ।
क्रिसमसको लागि सबै विद्यार्थी, शिक्षक र कर्मचारीलाई एकएक टुक्रा पुग्ने गरि विद्यालयले ४० पाउण्डको फ्रुट केक अर्डर दिएर बनाउन लगाएको थियो । विद्यालयमा पहिलोचोटी त्यति ठुलो केक देखेपछि साना विद्यार्थीहरु निकै होसिएका थिए ।

कुनैपनि धर्म आफैंमा सानोठुलो वा नराम्रो हुँदैन, सबै धर्मको उदेश्य मानव कल्याण र सबैको भलो गर्नु हो भन्ने विद्यार्थीलाई सन्देश दिन क्रिसमस पनि दशैंजस्तै गरि भव्यरुपमा मनाइएको विद्यालयका निर्देशक राजन सुवेदीले बताउनुभयो ।
विद्यालयका निर्देशक सुवेदी र सान्ता क्लजको पोशाक लगाएका विद्यार्थीले संयुक्तरुपमा केक काटेपछि क्रिसमसको रमझम शुरु भएको थियो । विद्यालयकी भाइस प्रिन्सिपल ममता शाहले विद्यार्थी, शिक्षक र कर्मचारीलाई केक बाँड्दै क्रिसमसको शुभकामना दिनुभएको थियो ।

क्रिसमसको अवसरमा सबै कक्षाका विद्यार्थीहरुले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए भने सानो कक्षादेखि ५ कक्षासम्मका विद्याथर््ीहरुले एकआपस उपहार र शुभकामना कार्ड आदानप्रदान गरेका थिए ।






