काठमाडौँ, ३० बैशाख । गुल्मीमा आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ईस्मा गाउँपालिका–६ साहुघर बस्ने ४५ वर्षीय थमन बहादुर कुमाललाई ४३ वर्षीया श्रीमती एमी कुमालको हत्या गरेको अभियोगमा मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।
थमनले कुटपिट गर्दा एमी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट धनार्जेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले कुटपिटमा संलग्न थमनलाई तत्कालै नियन्त्रणमा लिएको थियो ।
कुटपिटबाट गम्भीर घाइते भएकी एमीलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।






