काठमाडौँ, २३ बैशाख । काठमाडौँ महानगरपालिकाले ‘सामुदायिक र संस्थागत विद्यालयबिच सिकाइ र क्षमता आदानप्रदान गर्न ‘काठमाडौँ स्कुल पार्टनरसिप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
शिक्षा विभागले सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्रोत शिक्षक र महिला शिक्षकका लागि आयोजना गरेको ‘विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधार’ विषयक अभिमुखीकरण कार्यक्रममा उपप्रमुख डङ्गोलले शैक्षिक सुधारलाई विशेष प्राथमिकता दिइने बताए ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस शैक्षिक सत्रबाट सामुदायिक र संस्थागत विद्यालयका बीचमा सम्बन्ध विकास गरेर आपसी सिकाइ र क्षमता आदानप्रदान गर्न उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको बताइन् ।
आइतबार विद्यालय छुट्टी विषयमा अन्योल नहुन विद्यालयहरूलाई आग्रह गर्दै उनले पाठ्यक्रम पूरा हुने र थालिएका अन्य क्रियाकलाप पनि नियमित सञ्चालन गर्ने विषयमा छिट्टै वैज्ञानिक समाधान दिइने बताइन् ।






