काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आह्वान भएको २४ घण्टा नबित्दै संसद् अधिवेशन अन्त्य गरिनुले गम्भीर प्रश्नहरू उब्जाएको बताएका छन् ।
आज सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, “यस घटनाले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसद्लाई विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्नु पर्नेमा अध्यादेशको बाटो रोज्न खोजेको त होइन भन्ने आशंका उब्जाएको छ ।”
सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास कमजोर भएको उनको भनाइ छ । लोकतन्त्रमा विधि र प्रक्रियाको पारदर्शितालाई उच्च महत्त्व दिइनुपर्ने भन्दै उनले प्रक्रिया छलेर परिणाम खोज्नु पद्धति र मर्यादा दुवैको अवमूल्यन रहेको पनि दाबी गरेका छन् ।





