काठमाडौँ, १२ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलाहरूको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको बताएका छन् ।
आज चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पताल र काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरभित्र सञ्चालन हुने स्क्रिनिङ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारले चालु आर्थिक वर्षभित्र ५० लाख महिलाहरूमा स्तन, पाठेघर र सर्भाइकल क्यान्सर भए/नभएको पत्ता लगाउन स्क्रिनिङ गर्ने लक्ष्य राखेको उल्लेख गरेका हुन् ।
स्क्रिनिङको कार्यक्रम स्थानीय तहसम्म पुर्याउन सकेमात्र यो लक्ष्य हासिल हुने उनको भनाइ छ । उनले सरकाले गएको फागुन महिनालाई स्क्रिनिङ अभियानको रूपमा सञ्चालन गरेको समेत बताए ।
उक्त अभियानमार्फत कक्षा ६ देखि १० सम्म पढ्ने ९४ प्रतिशत किशोरीहरूलाई एच.पी.भी खोप लगाइएको समेत मन्त्री पौडेलको दाबी छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय भएको उल्लेख गर्दै उनले स्थानीय तहसँग जोड्न सके मात्रै स्क्रीनिङ्ग कार्यक्रम सफल हुने बताए ।







