एजेन्सी, २६ असोज । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
सेनाको संयुक्त चिफ अफ स्टाफका अनुसार स्थानीय समयअनुसार बिहान ९ः२० बजे प्योङयाङ क्षेत्रबाट प्रक्षेपण गरिएका केही मिसाइलले ९०० किलोमिटरभन्दा बढी दूरी पार गरेका छन् ।
दक्षिण कोरिया र अमेरिकाले मिसाइलको विशेषता विश्लेषण गरिरहेका छन्। जापानले पनि कम्तीमा एउटा शङ्कास्पद ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको पुष्टि गरेको छ । दक्षिण कोरियाले सैन्य तयारीको समीक्षा गर्न आकस्मिक सुरक्षा बैठक बोलाएको छ ।
यसअघि असैन्यीकृत क्षेत्र (डिएमजेड) मा बारुदी सुरुङ विस्फोट हुँदा दक्षिण कोरियाका तीन सैनिक घाइते भएका थिए । दक्षिण कोरिया र संयुक्त राष्ट्रसङ्घको संयुक्त अनुसन्धानले उक्त क्षेत्रमा उत्तर कोरियाले गत वर्ष बारुदी सुरुङ बिछ्याएको निष्कर्ष निकाले पनि प्योङयाङले त्यसलाई अस्वीकार गरेको छ । उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाले माफी माग्नुपर्ने मागलाई ‘घृणित’ भन्दै दक्षिण कोरियाबाट प्राप्त चिकित्सा उपकरण सहयोगको प्रस्तावसमेत अस्वीकार गरेकी छन्।







