नेपालगञ्ज, ४ फागुन । बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि अभियान चालिएको बताइन् । उनले अभियानलाई प्रभावकारी बनाउन सबैको महत्वपूर्ण भूमिका हुने भएकाले यस अभियानलाई सफल बनाउन सबैलाई आग्रह गरिन् ।
रोग निवारणका लागि हात्तीपाइलेविरुद्धको औषधि सेवन एक मात्र उपाय भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति दुर्गा गौतमले जानकारी दिइन् । खानेले औषधि खाइरहने र नखानेले औषधि नखाइदिने गरेका कारण हात्तीपाइले रोगविरुद्धको अभियान प्रभावकारी हुननसकेको उनले भनाइ थियो । यो अभियान यही फागुन ११ देखि सुरु हुदैँछ ।
यस पटक जिल्लामा छ लाख १६ हजार ६९५ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्रोत व्यक्ति गौतमले जानकारी दिइन् । उनले गर्भवती र सुत्केरी बाहेक सबैलाई औषधि सेवन गर्न आग्रहसमेत गरिन् । नेपालगञ्ज उपमहानगरपालिकामा एक लाख ७० हजार ५९८ जना, कोहलपुर नगरपालिकामा एक लाख दुई हजार ९०४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३०७ जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ ।
त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार ७३३, डुडुवा गाउँपालिकामा ४४ हजार १४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८०७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३४१ जनालाई औषधि खुवाइने भएको छ । अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा ५० प्रतिशत, कोहलपुर र डुडुवामा ७८, खजुरामा ७६, राप्तीसोनारी र बैजनाथमा ७३, नरैनापुरमा ७४, जानकी गाउँपालिकामा ८० प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
जिल्लामा आर्थिक वर्ष २०६७/६८ बाट हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको थियो । उक्त वर्ष जिल्लाको कभरेज ९१ प्रतिशत थियो । गत वर्ष बाँकेमा ६८ प्रतिशतले मात्रै औषधि सेवन गरेका थिए । बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले औषधि सेवन नै यसको न्यूनीकरण भएको स्वास्थ्य कार्यालयका प्रमुख पौडेलले बताइन् । उनले पाँच वर्ष लगातार औषधि खुवाएपछि ‘प्रि टाक्स सर्भे’ गरेर अर्को वर्ष औषधि खुवाएर निवारण गर्ने रणनीति असफल भएकाले १३औँ पटक औषधि खुवाउन लागिएको बताइन् । रासस







