काठमाडौँ, १० असोज । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीलाई ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति भएको बताएको छ ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारी अस्पतालको ओपीडी सेवामा मन्त्रालयसँग ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो । मन्त्रालयले स्वास्थ्य मन्त्रालय अन्तर्गतका संघीय अस्पतालमा उपचार गर्न जाने विद्यार्थीलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपीडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय भएको र सबै प्रदेश र स्थानीय तह अन्तगर्तका सरकारी अस्पतालमा समेत यसै बमोजिम ५० प्रतिशत छुटको व्यवस्था मिलाउन अनुरोध गर्ने भनी मन्त्रीस्तरीय निर्णय भएको जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष सुदेश पराजुलीले सरकारी, सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई सरकारी अस्पतालमा ओपीडी सेवामा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्ने सहमति भएको बताए ।





