नेकपा एमालेको तर्फबाट सूर्यविनायक नगरपालिकाको उपप्रमुखको उम्मेद्वारको रुपमा रहनुभएको सरिता भट्टराईसँगै एभरेष्ट मिसन डटकमको सहसम्पादक ऋतु गोलेसँग स्थानीय तहको निर्वाचन २०७९ विशेष अभियान अन्तरर्गत आगामी दिनमा एमाले नै किन ? नगरको भौतिक, पर्यटकीय, सांस्कृतिक विकासको साथमा सामाजिक तथा मानविय रुपान्तरणसहितको आर्थिक समृद्धिका विषयमा गरिएको संक्षिप्त कुराकानीको अंश :
१. स्थानीय तहको निर्वाचनमा एमालेलाई नै भोट किन ?
– एमाले राष्ट्रियताको सवालमा अटल, दृढता र स्वाधिनताको पक्षधर हो । मुलुकको विकास र समृद्धिको नेतृत्वकर्ता हो, मिसन र भिजनको कल्पनाकार पार्टी हो । एमाले विकासको नेतृत्वकर्ता मात्र हैन, नेपालको राजनीतिको केन्द्रविन्दु हो । एमालेका अध्यक्ष केपी ओलीको वरिपरि नेपालको राजनीति घुमेको छ । एमालेकै नेतृत्व कालमा भक्तपुरको मात्र हैन, मुलुकभरको विकासले ऐतिहासिक फड्को मारेको छ । रेलमार्ग, सुरुङमार्ग, हवाई मार्ग, जलमार्ग, मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, ल्याण्डलक कन्ट्रीबाट ल्याण्डलिङ्क कन्ट्रीको रुपमा विकास भएको छ । छिमेकी मुलुक भारत तथा चीनसँग पारवहन सन्धी भएको छ, जसले गर्दा विगतमा जस्तो नाकाबन्दी नेपाली जनताले भोग्नुपर्ने अवस्थाको सधैंको लागि अन्त्य भएको छ । एमालेको नेतृत्वमा विश्वको ध्यान नेपाल बनेको थियो । उच्च स्वभिमान स्थापीत भएको छ । भूगोलले कोही पनि ठूलो र सानो हुँदैनन्, स्वाभिमानमा समान हुन्छन् भन्ने स्थापीत भएको छ । नेपालको गुमेको भूमि लिपुलेक, लिम्पीयाधुरा र कालापानी नेपालको नक्सामा समेटिएको छ, यो ऐतिहासिक सफलता हो ।
अध्यक्ष केपी ओलीले नेतृत्व गर्नुभएको एमालेको कार्यकालमा पेट्रोलियम पाइपलाईन, धरहरा, रानीपोखरीलगायतका भुकम्पले ढलेका भौतिक संचनाहरुको पुनः निर्माण भएको छ । वृद्धभत्ता वृद्धि, प्रत्येक स्थानीय तहमा औद्योगिक क्षेत्रको विकास गरी रोजगारी, सवै स्थानीय तहमा स्वास्थ्य केन्द्रको स्थापना, स्थानीय तहका जनतामा वैंकिङको पहुँचको विकास, नीजि क्षेत्रसँगको सहकार्य, विद्युतको उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात, स्वास्थ्य विमा, सामाजिक सुरक्षा कोष, मेलम्ची खानेपानी, भेरी बबई, शुनकोशी, तामोर चिसाङ ड्राइभर्सन, फलाम खानी तथा पेट्रोलियम पदार्थको उत्खनन्, सडक, ढल, खानेपानीलगायतका असंख्य योजनाहरु अगाडी बढेका छन् । जसले गर्दा अबका दिनमा मुलुकको विकास र समृद्धिको लागि एमाले नै अपरिहार्य रहेको छ ।
२. तपाईले सूर्यविनायक नगरपालिकामा जित्ने आधारहरु के के हुन ?
– भक्तपुरमा एमालेको नेतृत्वमा भएका सडक, ढल, खोपानी, स्वास्थ्य, शिक्षा, पर्यटन तथा वातावरणीय क्षेत्रमा भएका विकासले ऐतिहासिक उपलब्धी हासिल गरेको छ । भक्तपुरको गठ्ठाघरमा पाँच हजार क्षमताको आधुनिक सभागृह बन्ने प्रकृया अगाडी बढेको छ । खेलमैदान, कवोर्ड हल, पुल, स्मार्ट सिटी, हनुमन्ते तथा मनोहरा करिडोर, स्याटलाईट सिटी, सूर्यविनायक धुलिखेल सडकको स्तरउन्नती, कोटेश्वर जडिबुटी खण्डमा अण्डर पास, जगातीमा सवै सरकारी कार्यालयहरु एकै ठाउँमा निर्माण, पर्यटकीय स्थलको विकास र प्रवद्र्धन, पदमार्ग निर्माण, मठमन्दिरहरुको पुनः निर्माण लगायतका असंख्य कामहरु भएका छन् । जसबाट जनताको विकास प्रतिको मुर्छित सपनाहरु विपनामा रुपान्तरण हुँदै गएका छन् । त्यस्तै कतिपय आयोजनाहरु निर्माणको क्रममा रहेका छन्, जसलाई पुरा गर्न र आगामी दिनमा सूर्यविनायकले विकास खोज्न हैन, विकासले सूर्यविनायक खोज्ने अवस्था बनाउन एमालेको आवश्यकता रहेको छ । जनताका आधारभूत आवश्यकताहरू पुरा गर्ने गरी हामीले विभिन्न पूर्वाधारका कामहरू, बाटो बनाउने, पुल बनाउने, बनिरहेका बाटोमा पिच गर्ने लगायतका विकास निर्माणका कामहरू उक्त टिमले गर्योब त्यो नै एउटा हाम्रो जितको मूल आधार हो । जनताका आवश्यकता भनेकै सडक, ढल, पुल, खानेपानी लगायतका पूर्वाधार विकास नै रहेछन् । एमालेले जनताको भावना बुझ्छ, युवा, महिला, ज्येष्ठ नागरिकहरूलाई समेट्छ र उहाँहरूको भावनालाई समेटेर त्यस अनुसार योजना बनाएर काम गर्ने गर्दछ भन्ने छ । जनताको त्यही माग र चाहाना नै हाम्रो जितको अर्को दरिलो आधार हो ।
३. सूर्यविनायक नगरपालिकामा तपाईसहितको टिमलाई नै भोट किन ?
– हाम्रो टिममा नगरपालिकालाई ऐतिहासिक तथा नमुनायोग्य बनाउनको लागि मिसन छ, भिजन छ । जसले गर्दा नगरवासीको समृद्धिको सपना पुरा हुनेछ । नगरपालिकामा विगत पाँच वर्ष एमालेले नेतृत्व गर्दा तीन वटै तहको समन्वय, सहकार्यले गर्दा नगरपालिकाले भौतिक विकासमा चार वटै दिशातर्फ हेर्दा विकासको लहरमात्र देख्ने अवस्था बन्यो । यसलाई पूर्णता दिन अझै एमालेका नेतृत्व आवश्यकता रहेको छ । नगरपालिका क्षेत्रमा स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारले गरेको विकासले गर्दा मुलुककै नमुना तथा अध्ययको केन्द्रको रुपमा स्थापीत हुँदैछ । अघि नै मैले माथि उल्लेख गरेका विकास निर्माणमा नगरपालिका तथा तत्कालिन नगरप्रमुख तथा एमालेको तर्फबाट अहिले प्रमुखका उम्मेद्वार बन्नुभएको बाशुदेव थापाले खेल्नुभएको भूमिका नै जनताले मतदान गर्नुपर्ने एउटा महत्वपूर्ण पक्ष हो । नगरमा भइरहेका योजनाहरुलाई पूर्णता दिँदै आगामी नविनतम् सोच र विकासलाई तिव्र गतिमा अगाडी बढाई जनताको विकासप्रतिका चाहना र आवश्यकतालाई पुरा गर्न सक्ने पार्टी एमालेमात्रै हो ।
४. आर्थिक क्षेत्रको विज्ञको रुपमा रहनुभएको तपाईले नगरपालिकाको नेतृत्व गर्ने अवसर आएमा समृद्धिको योजना के के बनाउनुभएको छ ?
– हामी चाहन्छौं, “चढ्दैछौं विकास र समृद्धिको शिखर, ल्याउँदैछौं सुशासनको लहर”, “बाशुदेव थापाको नेतृत्वमा रहेको टिम “शासक हैन, जनताको सेवक” बन्नेछ । हामी सपना हैन, योजना लिएर आएका छौं, “सुशासन, विकास र समृद्धिका लागि स्थानीय तहमा नेकपा एमालेको सरकार” भन्ने मान्यतालाई जनताको बिचमा लिएर आएका छौं । “राम्रो नगर र हाम्रो नगर स् सूर्यविनायकवासीको रहर” भन्ने दृढ संकल्पका साथ सिजनको लागि मात्र नभई भिजनको नेतृत्व लिएर आएका छौं । जसले राजनीतिलाई पेशाको रुपमा नभई जनताको सेवाको रुपमा लिने छ । हाम्रो नेतृत्वको टिमले नगरवासीको लागि सबल पूर्वाधार सहितको समृद्ध र हरियाली नगर, अबको पाँच वर्षमा सुखी जनता, समृद्ध नगर, सूर्यविनायक अबको पाँच वर्षमा प्रतिष्ठित शहर, कार्ययोजनामा स्पष्टता र विकासप्रतिको दुरदर्शिता, सूर्यविनायकको समृद्धिमा प्रतिबद्धता, जनतामा आउनेछ खुशियालीको लहर कर्तव्यनिष्ठता र लगनशिलता, सूर्यविनायको विकासप्रतिको नेकपा एमालेको प्रतिबद्धता स् सबल पूर्वाधार र जनमैत्री नगर तथा सूर्यविनायको समृद्धिः नविन सोच र कार्यशैली अब सूर्यविनायकाव प्रवृत्तिको रुपमा अगाडी बढाउने छौं । नीजि, सरकारी तथा सहकारीको माध्यमबाट नगरपालिकामा रोजगारीको साथै आर्थिक वृद्धिदरको महत्वपूर्ण पक्षलाई समेत समट्ने छौं । समाजिक विकासको र मानविय सोचको विकास तथा प्रवद्र्धन गरी नगरवासीको भाग्य र भविष्य निर्माण गर्नेछौं । सूर्यविनायकलाई नमुना विकास र समृद्धिको यात्राले देशकै नमुना बनाउनेछौं । विकाससँगै देशभरबाट काठमाडौँ उपत्यका आउने नागरिकलाई सूर्यविनायकमा स्थायी वसोवास गर्ने केन्द्रविन्दु तथा आकर्षणको केन्द्र बनाउनेछौं ।
५. धर्म तथा संस्कृतिको माध्यमबाट मानविय तथा सामाजिक रुपान्तरणलाई कसरी लिनु भएको छ ?
– नेपाल यस्तो देश हो, जहाँ धर्म संस्कृतिकै कारण आन्तरिक तथा वाह्य पर्यटकहरु भित्र्याई आर्थिक वृद्धिदरमा महत्वपूर्ण टेवा पुर्याउँछ । धर्म संस्कृति नेपालको पहिचान हो, अलिखित कानुन हो । जसले मानिसलाई अनुशासित बनाउँछ, संस्कार र मर्यादा सिकाउँछ, समाजमा एक आपसमा भातृत्वको सम्बन्ध विकास हुन्छ, समाजलाई सत्मार्गमा हिडाउँछ । नेपालको धर्म संस्कृतिलाई नै आधार मानि पश्चिमा देशहरुले आधुनिक प्रविधिको विकास गरेका छन् । अब नेपालको धर्म संस्कृतिको जगेर्ना गर्दै उद्योगसँग जोड्नुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ । भक्तपुरको कला संस्कृतिलाई नेपालमा मात्र हैन, विश्वलाई अकर्षणको केन्द्रविन्दुको रुपमा विकास गर्नु पर्ने आवश्यकता छ । नेपाली कला संस्कृतिलाई बजार विस्तार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । नेपाली नागरिक रोजगारीको लागि विदेश जाने नभई विदेशी नागरिकलाई नेपालमा ल्याउन सकिन्छ । त्यसको लागि आगामी दिनमा हाम्रो नेतृत्वको टिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।
६. स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एक महिला अनिवार्य भन्ने संवैधानिक व्यवस्थालाई गठबन्धनका दलहरुले धज्जी उडायो भनेर आरोप छ । यसमा तपाईको धारणा के छ ?
– पाँच दलीय गठबन्धन भनेको विचार, सिद्धान्त मिलेर बनेको हैन । स्वार्थ मिलेपछि सिद्धान्तलाई विलिन गरेर बनेको गठबन्धनबाट संविधानको पालनाको त के कुरा गर्ने ? प्राप्त उपलब्धिलाई गुमाउने षड्यन्त्रमा रहेको छ । एमालेले संवैधानिक व्यवस्थालाई शतप्रतिशत कार्यान्वयन गरेको छ । धेरै स्थानीय तहमा महिलालाई प्रमुख पदको लागि उम्मेद्वारी प्रस्तुत गरेको छ । भक्तपुरमा नै हेर्ने हो भने, तीन वटा नगरपालिकामा उपप्रमुखको रुपमा महिला रहनुभएको छ भने चाँगुनारायण नगरपालिकामा प्रमुख पदमा महिला हुनुहुन्छ । त्यसैले म दावाका साथ भन्छु, सूर्यविनायक नगरपालिकाको लागि म मात्र एक्लो साझा महिला उम्मेदवार हुँ ।
७. एमालेको विरुद्ध पाँच दलीय गठबन्धन बनेको छ । गठबन्धन तपाईहरुको जीतको लागि चुनौति बन्न सक्ला नि ?
– स्वार्थको गठबन्धनले सूर्यविनायकमा हामीलाई कुनै असर पर्दैन । हाम्रो प्रतिष्पर्धी एक अर्काको बैशाखी टेकेर हिडेको दक्षिणपन्थी गठबन्धन हुनै सक्दैन । जनता नै हाम्रो भगवान भएकाले जनमतबाट परमादेशी गठबन्धनलाई सहजै परास्त गर्छौ । जनताको भावना बुझेका छौं, हिजो पनि जनचाहना अगाडी बढेका थियौं, अहिले पनि सोही अनुसार अगाडी बढेका छौं, आगामी दिनमा अझ बढि सशक्त भएर जनताको साथमा अगाडी बढ्ने छौं । त्यसैले निर्वाचन हाम्रो प्रतिष्पर्धाको लागि हैन, औपचारिक घोषणाको लागि मात्र हो ।
८. तपाई अर्थ विज्ञसमेत हुनुहुन्छ, अहिले श्रमजीवि जनता तथा मार्क्सवादी नेताहरुले निजी क्षेत्र, बजार र उद्धमीहरूलाई हेर्ने दृष्टिकोण फरक फरक पाइन्छ । किन यस्तो भएको हो ?
– कम्युनिष्ट घोषणापत्रका मस्यौदाकार कार्ल मार्क्स र फ्रेडरिक एंगलस् हुनुहुन्छ । श्रमजीवी जनता तथा मार्क्सवादी नेताहरुले निजी क्षेत्र, बजार र उद्धमीहरूलाई हेर्ने दृष्टिकोणलाई हेर्दा उहाँहरूले कम्युनिष्ट घोषणापत्र श्रमजीवी र उद्यमी दुबैको संयुक्त घोषणापत्र भनी स्वीकार गर्न नसकिरहेको आभास हुन्छ । फलत वर्ग संघर्ष र राजनैतिक पाटो मात्र सतहमा आएको छ । आर्थिक उन्नति र समृद्धिको पाटो भने अझै गुमनाम छ । पारस्परिक लाभको बाटो राम्ररी खुल्न सकेको छैन । कैचीको एउटा मात्र धारले नकाटे जस्तै र एक पाटोमात्र भएको सिक्का नचले जस्तै समाजको आर्थिक रुपान्तरणको मुद्दा अझ पेचिलो बन्दै गएकाले यसलाई बहसका रुपमा अगाडी बढाउनु जरुरी छ । वास्तवमा निषेधको सिद्धान्त भनेको विपरीतबीचको एकता नै हो तर एकताको प्रकृया भने विपरीतबीचको संघर्ष र तिनीहरूबीचको विरोधाभासको समाधान हो । वर्ग संघर्ष क्रान्तिको बेलाको अवस्था हो भने वर्ग समन्वय वा एकता क्रान्ति सफल भईसकेपछिको समृद्धि प्राप्तिकालागि चरणको अवस्था हो भन्न सकिन्छ । तर अहिले पनि वर्ग संघर्ष मात्र देख्ने र समन्वय र एकता देख्नै नसक्ने कुरा हावी भएको पाइन्छ । अहिले पनि अधिकांस राजनीतिज्ञहरुले निजि क्षेत्र, राष्ट्रिय पूँजीपति र उद्दमीहरूलाई वर्ग शत्रु कै नज़रले हेर्ने गरेको पाईन्छ । यो सोचाई नै हाम्रो समृद्धिको यात्रामा बाधक सिद्ध हुन सक्ने खतरा छ । हामीसँग एउटा वर्ग नगरे पनि खान पुग्ने खालको छ । एउटा वर्ग नगरी खान नपाउने खालको छ । हामीले नगरे पनि खान पुग्नेलाई जोखिम मिलेर काम गर्ने वातावरण तयार गर्न सकेमात्र नगरी खान नपाउनेले गरिखाने अवसर पाउँछन् । किनभने धनिमानी, लगानीकर्ताले वा निजी क्षेत्र भनेको आर्थिक बृद्धिका ईन्जिन हुन्, श्रमजीवी जनताहरू अर्थतन्त्रका ईन्धन हुन् । ईन्जिनलाई न्यूट्रलमा राखेर जतिसुकै ईन्धन खर्च गरेपनि अर्थतन्त्रको गाडी अगाडि बढ्दैन । हिजो राज्य सत्तालाई मात्र बाधक देख्ने हामीले राज्य सत्ता प्राप्ति भएसंगै जनतालाई अनुभूति हुने खालको परिवर्तन दिन सकेनौं भने हामीले पनि भविष्यमा कठघरामा उभिएर जवाफ दिनु पर्ने हुन सक्छ । हिजो राज्य सत्ता प्राप्त गर्न हामीले प्रयोग गरेका संगठनहरू नै हाम्रै लागि चुनौति हुन सक्छन् । यसको कुटनैतिक सामधान नगरी द्वन्दमा जानु हुँदैन । किनभने यसले भविष्यमा हुने जनमतलाई प्रत्यक्ष असर पार्ने हुन्छ । यस तर्फ सबैले गम्भिरताका साथ ध्यान दिनु जरूरी छ ।
९. पुराना महिला नेतृत्वलाई पाखा लगाउँदै तपाईलाई राजनीतिमा ल्याईयो भन्ने गुनासो छ नि ?
– मलाई जहाँसम्म लाग्छ, तपाईले सुन्नु भएको कुरा नै गलत छ । कस्तोलाई नयाँ र कस्तोलाई पुरानो भन्ने ? हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको गृहक्षेत्र भएको बालकोटको पार्टीको वडा अध्यक्षको जिम्मेवारी हुँदै अखिल नेपाल किसान संघ, बुद्धिजिवी परिषद्, एमाले उपत्यका सहकारी विभाग, केन्द्रीय सहकारी विभागको नेतृत्व गर्दै अहिले भक्तपुर पार्टी जिल्ला कमिटीमा छु । पदीय जिम्मेवारीमा केही तलमाथि भए होला तर पार्टीमा मेरो इतिहास पुरानो छ । त्यती मात्र हैन, वर्तमान समयको माग, चाहना, आवश्यकता, बौद्धिकता, क्षमता, दक्षता पनि त पार्टीले टिकट दिने कुरामा महत्वपूर्ण अर्थ राखेको होला नि ? मैले १४ हजार सहकारी संस्थाहरुको नेतृत्व गरेको राष्ट्रिय सहकारी बैंकको नेतृत्व गरिरहँदा कति जनताको मन मस्तिष्कमा बस्न सफल भएको छु होला ? सहकारीमा आवद्ध रहनुभएका साथीहरुलाई पार्टीमा आवद्ध गर्न मैले खेलेको भूमिका अतुलनिय रहेको छ । म एउटा व्यक्तिले देशभरका सहकारी संस्थाहरुमा आवद्ध हुनुभएका आम नागरिकमा उत्साह पैदा भएको छ, जुन पार्टीको लागि ठूलो उपलब्धी हो । त्यसैले साथीहरुले गुनासो गर्नुभएको छ जस्तो लाग्दैन ।
१०. कांग्रेस तथा नेपाल मजदुर किसान पार्टीले नेतृत्व गर्दाको अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
– पछिल्लो पाँच वर्ष अघिका कांग्रेस तथा नेमकिपालगायतका दलहरुले भक्तपुरको विकासलाई अध्यारो सुरुङमा राखेका थिए । भ्रष्टाचारमा लिप्त थिए, भूमाफिया थिए, न्युनतम आवश्कतालाई धन नै दिएनन् । कांग्रेस तथा नेमकिपाले सूर्यविनायकको नेतृत्व गर्दा विकासको त कुरै नगरौं । नेपालको राजधानी काठमाडौँ, जसमा पनि सिंहदरवारबाट ५÷७ किलोमिटर मात्र टाढा रहेको भक्तपुरमा सिंहदरवारको पहुँच शुन्य अवस्थामा थिए । विकास र समृद्धिको यात्रा बक्तिमुनीको अध्यारो जस्तै बनाएका थिए । विकास प्रतिको सपना सात समुन्द्र पारीको जस्तै बनेको थियो । तर एमालेको नेतृत्वको पाँच वर्षमा त्यस्ता विकृति र विसंगतिको अन्त्य भएको छ । सिंहदरवारसँगको पहुँच सहजै भएको छ । आवश्यकता अनुसार सिंहदरवारले सूर्यविनायक खोज्ने वातावरण सिर्जना भएको छ । जसको श्रेय नेकपा एमालेका अध्यक्ष केपी ओली तथा पोलिटव्युरो सदस्य तथा हाम्रो क्षेत्रको प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई विशेष रुपमा लिन सकिन्छ ।
११. अन्त्यमा, तपाईको आम मतदातालाई के भन्न चाहनुहुन्छ ?
– मेरो मतदाता आफैमा बुज्रुक हुनुहुन्छ, बौद्धिक हुनुहुन्छ, उहाँहरुको माया, सद्भावले नै नगरपालिकाको आगामी यात्रा तय हुने हो । त्यसैले आम सूर्यविनायकवासी आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुले हाम्रो टिमलाई अमुल्य मतदान गरी विजयी गराउनुहुने छ । सवैको साथ र सहयोगको लागि हार्दिक आभार प्रकट गर्दछु ।






