काठमाडौँ, २२ असार । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से बढेर १३०० को विन्दु नजिक पुगेको छ । सोमबार सेयर बजार परिसूचक नेप्से ३३.२७ अंकले बढेर १२९८.७३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । सेन्सेटिभ इन्डेक्स ६.३ अंकले बढेर २७५.८८ अंकमा पुगेको छ ।
नेप्सेमा वृद्धि भए पनि सोमबार कारोबार रकम भने घटेको छ । नेप्सेमा १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता सेयर किनबेच हुँदा ९२ करोड ७८ लाख ४१ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
सुरुको ७ मिनेट बजार परिसूचक नेप्से उकालो लागे पनि त्यपछि पुनः ओरालो लागेर नेप्से १२५९ अंकसम्म झरेको थियो त्यसपछि बने बजार लगातार उकालो लागेको बजारमा केही उतारचढाव देखिए पनि १३०० अंकका नजिक पुगेर बन्द भएको हो ।
सोमबार पनि नेपाल पुनर्बिमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । गत सातबाट नेप्सेमा कारोबार सुरु भएको कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर ४४० मा बन्द हुँदा १४ करोड ५३ लााख ३३ हजारको कारोबार भएको छ । यस्तै ग्लोबल आइएमई लघुवित्तको पनि सेयर मूल्य १० प्रतिशतले नै बढेको छ । सूर्योदय, ग्रामीण विकास लघुवित्तको सेयर मूल्य पनि करिब १० प्रतिशतले नै वृद्धि भएको छ ।
सोमबार नेप्सेमा सर्वाधिक कारोबार हुने कम्पनीमा पुनर्बिमा पछि नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ८० लाख ९२ हजार हजारको कारोबार भएको छ । यस्तै प्रभु बैंकको संस्थापक ४ करोड ८४ लाख ४४ हजार, हिमालयन डिस्टिलरीको ३ करोड ९ लाख ९५ हजार र एनएमबी बैंकको २ करोड ६० लाख २४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
सोमबार नेप्सेमा कारोबार भएका १७६ कम्पनीमध्ये ११९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै २७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने अन्य कम्पनीको सेयर मूल्य स्थिर छ ।
सोमबार म्युचुअल फन्डबाहेक सबै उपसमूहको परिसूचक बढेको छ । निर्जीवन बिमा र लघुवित्त समूहको उपसूचक ४ प्रतिशतभन्दा माथिले बढेको छ ।






