एजेन्सी, २२ कार्तिक । पोल्यान्डको दक्षिणी सहर क्राकोस्थित मुख्य चोकमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
दक्षिणपन्थी अतिवादी विचारधाराबाट प्रभावित भएको आशङ्का गरिएका एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा छ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि प्रहरीले उनलाई गोली हानी नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३ बजे कारबाट आएका २४ वर्षीय पोलिस नागरिकले क्राकोको ऐतिहासिक मुख्य चोकमा रहेका मानिसहरूमाथि गोली चलाएका थिए । घटनामा चार महिला र दुई पुरुषको मृत्यु भएको छ भने दुई प्रहरी अधिकारीसहित १७ जना घाइते भएका छन् । घटनामा एक जना बेलायती नागरिकको मृत्यु अस्ट्रिया, जर्मनी, पोर्चुगल, रुसका विदेशी नागरिक समेत छन् ।
गृहमन्त्री मार्सिन किर्विन्स्कीले आक्रमणकारी दक्षिणपन्थी अतिवादी विचारधाराबाट प्रभावित भएको प्रारम्भिक सङ्केत देखिएको र यस विषयमा अनुसन्धान भइरहेको बताएका छन् । आक्रमणकारीले एआर–१५ राइफल प्रयोग गरेको र उनीसँग बन्दुक राख्ने अनुमति पत्रसमेत रहेको प्रहरीले जनाएको छ । उनको गाडीबाट ठूलो परिमाणमा हतियार र गोलीगठ्ठा पनि बरामद गरिएको छ ।
प्रधानमन्त्री डोनाल्ड टस्कले आक्रमणकारीको घरमा थप तीन जनाको शव फेला परेको जानकारी दिएका छन् । उनीहरू दुई महिला र एक पुरुष रहेको तथा आक्रमणकारीकै परिवारका सदस्य हुन सक्ने आशङ्का गरिएको छ । क्राकोबाट करिब २०० किलोमिटर उत्तरमा रहेको ओस्ट्रोभिएक स्विएन्तोक्रिस्कीस्थित उनको घरमा सम्भावित हतियारको जोखिमका कारण ड्रोन प्रयोग गरी निरीक्षण गरिएको थियो । सुरक्षा अधिकारीहरूले घरमा थप हतियार हुन सक्ने बताएका छन् ।
प्रहरीले घटनाको सूचना पाएको तीन मिनेटभित्रै आक्रमणकारीमाथि गोली चलाएर नियन्त्रणमा लिएको गृहमन्त्रीले बताएका छन् । प्रहरीको तत्कालको कारबाहीले अझ ठूलो नरसंहार हुनबाट जोगाएको उनको भनाइ छ । प्रहरीसँगको गोली हानाहानमा घाइते भएका आक्रमणकारीको अवस्था शल्यक्रियापछि स्थिर भए पनि अत्यन्त गम्भीर रहेको छ ।







