काठमाडौँ, २१ असार । रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असार ९ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।
२०७४ मंसिरबाट नयाँ जीवन बिमा कम्पनीका रूपमा सञ्चालनमा आएको कम्पनीले ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता साधारण सेयर निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्कासन गर्न बोर्डमा अनुमति माग गरेको छ । हाल एक अर्ब ४७ करोड चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।






