काठमाडौँ, २१ वैशाख । साल्ट ट्रेडिङ कर्पोरेसनले ५० हजार मेट्रिक टन चिनी आयात अनुमतिका लागि वाणिज्य मन्त्रालयमा निवेदन दिएको छ ।
साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीका अनुसार दशैं तिहारलाई चिनी अपुग हुने देखिएपछि आयात गर्न अनुमति मागिएको हो । उनका अनुसार कम्पनीमा ३५ सय टन चिनी मौज्दात रहेको छ । उक्त परिमाणको चिनीले ४५ दिनको माग धान्न सकिने छ ।
त्यस्तै स्वदेशी चिनी उद्योगसँग भने ६३ हजार मेट्रिक टन चिनी मौज्दात छ । उक्त परिमाणको चिनीले ४ महिनाको माग धान्न सकिने चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिए ।
साल्ट ट्रेडिङले स्वदेशी उद्योगलाई समस्या नहुने गरी चिनी आयात गर्नुपर्ने उनी बताउँछन् । भारतीय चिनी सस्तो हुने भएकाले आयातमा भन्सार छुट दिन नहुने उनको तर्क छ । आयात गरिएको चिनी दशैं–तिहारमा मात्र बेचिनु पर्ने उनले बताए ।






