काठमाडौँ, १७ चैत । मुलुक गम्भीर आर्थिक संकटको अवस्था पुगेको र योबेला राष्ट्रिय ढुकुटीमा रहेको डलर सञ्चित गर्नु अनिवार्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सरकारको निर्णयले तत्काल बजारमा सुनको अभाव पनि नहुने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘महामारीको त्रास बढेसँगै सुन आयात गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मात्र अनुमति दिएको छ । मन्त्रिपरिषद्को आइतबारको निर्णयपछि अब बैंकहरुले दैनिक १० किलो मात्र सुन आयात गर्न पाउने छन् ।
डलरको आकासिएको मूल्यले गर्दा सुनको भाउ प्रतितोला ८५ हजार हाराहारीमा पुगेको सुन चाँदी व्यवसायीले दाबी गरेका छन् । लकडाउनका कारण देशैभरको व्यवसाय बन्द गरेर नेपालमा सुनको भाउ नतोके पनि अन्तराष्ट्रिय बजार मूल्यले त्यही बताउने महासचिव बज्राचार्यले बताए ।
‘भाउ नतोकेर हामीले सरकारलाई सघाएका छौँ । तर, मूल्य तोलाकै ८५ हजार पुगिसकेको छ,’ बज्राचार्यले भने । बजार गतिलो नभएका कारण बैंकहरुले यस वर्ष धेरै सुन आयात नगरेकाले सुनको मौज्दात नरहेको महासंघले जनाएको छ ।






