सुनसरी, १३ मंसिर । गृहमन्त्री सुधन गुरुङले सुशासन र समृद्धिका लागि आवश्यक सबै प्रयास गरिने उल्लेख गर्दै यसलाई इतिहासले दिएको अन्तिम अवसरका रूपमा लिएको बताएका छन् ।
शनिबार इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभालाई सम्बोधन गर्दै उनले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए । जनताबाट निर्वाचित भएर पदमा पुगे पनि उनीहरूको सम्मान गर्न नसक्ने व्यक्तिले अर्को पटक निर्वाचनमा उम्मेदवार बन्नुको औचित्य नरहने उनले बताए । नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्नेमा उनले जोड दिए ।
पार्टी वा कुनै झन्डाभन्दा देश माथि रहेको उल्लेख गर्दै उनले युवा पुस्तालाई पनि यही भावना सिकाउनुपर्ने धारणा राखे । नेपाली जनता र आफ्नो समुदायले गरेको विश्वासको सम्मान गर्दै देशमा सुशासन कायम गर्न र समृद्धि हासिल गर्न सरकार प्रतिबद्ध रहेको उनले बताउनुभयो ।






