बुटवल, ९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, संस्थागत प्रयास र सामाजिक चेतनासँगै व्यक्ति, परिवार तथा समुदायको सोच र व्यवहारमा सकारात्मक परिवर्तन आवश्यक रहेको बताएका छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (मङ्सिर ९ देखि २४ गतेसम्म) का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन, सामाजिक न्यायको बाधक तथा समतामूलक समाज निर्माणको चुनौती भएको उल्लेख गरेका छन् ।
महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण, सीप विकास, आत्मनिर्भरता, निर्णय प्रक्रियामा सहभागिता तथा हिंसा प्रभावित व्यक्तिको संरक्षण, न्यायमा पहुँच र पुनःस्थापनाका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।






