एयर रुटको सहमति सकारात्मक: महासचिव पोखरेल

दाङ, ८ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्त्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हवाई रुटसम्बन्धी सहमति हुनु सकारात्मक भए पनि नेपालको सीमा समस्या, सन् १९५० को सन्धि पुनरावलोकन, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायत विषयमा छलफल हुन नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले विगतमा विदेशी ऋण लिनु हुँदैन भन्ने मान्यता राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले अहिले भारतबाट प्राप्त ऋणलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नुले उसको पुरानो मान्यतामा परिवर्तन आएको देखिएको बताउनुभयो ।

‘नचाहिँदो भ्रमबाट रास्वपा मुक्त भएको छ’

महासचिव पोखरेलले विदेशी ऋण नेपालको विकासका लागि आवश्यक रहेको कुरा अहिलेको सरकारले समेत स्वीकार गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा लोकतन्त्रका लागि लडेका दललाई जुन आक्षेप लगाइएको थियो, त्यो कति मिथ्या रहेछ भन्ने कुराको पुष्टि भएको छ । विदेशीको ऋण लिनुपर्ने रहेछ भन्ने कुरा स्वयं प्रधानमन्त्रीले स्वीकार गर्नुभएछ र भारतबाट प्राप्त ऋणलाई प्रमुख उपलब्धि भन्दै गर्व गर्नुभएको छ ।”

भारतको एक्जिम बैङ्कबाट प्राप्त ऋण कार्यान्वयनमा देखिएका जटिलता र त्यसबाट सडक निर्माणमा भइरहेको ढिलाइले ऋण परिचालनको व्यवहारिक कठिनाइसमेत पुष्टि गरेको उहाँको भनाइ थियो । “जे होस्, नचाहिँदो भ्रमबाट रास्वपा मुक्त भएको छ । उसले नेपालको विकासका लागि ऋण आवश्यक छ भन्ने कुरा बुझेछ,” उहाँले टिप्पणी गर्नुभयो ।

हवाई रुट सहमति सकारात्मक, तर कार्यान्वयन मुख्य प्रश्न

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको हवाई रुटसम्बन्धी सहमतिलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै महासचिव पोखरेलले त्यसको कार्यान्वयनमा भने आशङ्का व्यक्त गर्नुभयो ।

उहाँले विगतमा पञ्चायतकालमा समेत यस्तै सहमति भएको स्मरण गराउँदै भन्नुभयो, “एयर रुटको सहमति सकारात्मक भएको छ । तर कार्यान्वयन प्रमुख कुरा हो । पञ्चायतमा पनि यस्तो सहमति भएको थियो, तर कार्यान्वयनमा आएन ।”

प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकामा ग्रेटर नेपालको नक्सा राखेर बस्नुभएको सन्दर्भ उल्लेख गर्दै भारत भ्रमणका क्रममा सीमा र ऐतिहासिक सन्धिसम्बन्धी विषय उठाउने अपेक्षा आफूले गरेको उहाँले बताउनुभयो । “ग्रेटर नेपालको नक्सा काठमाडौं महानगरपालिकामा टाँसेर बस्ने प्रधानमन्त्रीले नेपाल–भारत सीमाका बारेमा छलफल गर्नुहोला भन्ने लागेको थियो । कम्तीमा सुगौली सन्धिपछिका विषयमा छलफल हुनुपर्थ्यो । तर त्यो छलफलको विषय नै बनेन,” उहाँले भन्नुभयो ।

उहाँले सन् १९५० को नेपाल–भारत सन्धिको विषयमा समेत प्रधानमन्त्रीले प्रवेश गर्न नसकेको टिप्पणी गर्नुभयो । त्यसैगरी, नेपाली चिया, अलैँची तथा तरकारी भारतीय बजारमा सहज रूपमा प्रवेश गर्न नसकिरहेको समस्यालाई भ्रमणको एजेण्डामा समेट्न नसकिएको उहाँको भनाइ थियो । “भारतबाट आउने उत्पादनले प्राथमिकता पायो, तर आफ्नो उत्पादन भारतमा पुर्‍याउने कुरामा ध्यान गएन,” पोखरेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सर्लाही, ८ मंसिर । सर्लाही प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका १० जनालाई पक्राउ

हेटौँडा, ८ मंसिर । प्रतिबन्धित लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका कार्यालयबाट

काठमाडौँ, ८ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजकाे मूल्यसूची सार्वजनिक गरेकाे छ । फलफूल तथा तरकारी

पाल्पा, ८ मंसिर । ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तिनाउ गाउँपालिका–६ सिसुवा