काठमाडौँ, ३ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक स्वतन्त्रताबिना राष्ट्रिय सार्वभौमसत्ता अधुरो रहने बताएका छन् ।
मस्कोमा सत्तासीन दल ‘युनाइटेड रसिया’ले आयोजना गरेको ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारणसभालाई सम्बोधन गर्दै उनले नेपाल स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपालको भूगोल भू–राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल नभएर सहयोग र साझा समृद्धिका लागि पुल बन्नुपर्ने धारणा राखेका थिए ।
प्रचण्डले बाह्य हस्तक्षेपबिना भविष्य निर्धारण गर्ने अधिकार हरेक राष्ट्रलाई रहेको बताउँदै रसियासँग शिक्षा, विज्ञान, व्यापार, पर्यटन र संस्कृतिमा सहकार्य सुदृढ गर्न चाहेको उल्लेख गरेका थिए । चीन, भारत, अफ्रिका, अमेरिका र युरोपलगायत ७६ देशका ४८० प्रतिनिधि सहभागी उक्त सम्मेलनमा प्रचण्डले विश्व बहुध्रुवीय व्यवस्थातर्फ अघि बढेको उल्लेख गरे । रुसको साताव्यापी भ्रमण पूरा गरी उनी आज स्वदेश फर्किएका छन् ।






