काठमाडौँ, १ मंसिर । हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ ।
रथयात्रा सम्पन्न भएसँगै आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु हुँदैछ । महायज्ञको पहिलो दिन बिहान ८ः०० बजे गौशालामा सामूहिक गौपूजा, ९ः०० बजे गण्डकी पूजन र १०ः०० बजे बाजागाजा तथा भजनकीर्तनसहित कलश यात्रा गरिने प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिए ।
कलश यात्रा गण्डकी नदीको तट हुँदै धामको परिक्रमा गरी यज्ञस्थलमा पुग्नेछ । त्यसपछि भगवान् मुक्तिनाथको सन्निधिमा सामूहिक सङ्कल्प, कन्या पूजा तथा दीप प्रज्वलन गरिनेछ । बिहान ११ः३५ बजे दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको उनले बताए ।






