एजेन्सी, १ मंसिर । अमेरिकाका प्रमुख बैंकहरूमा प्राविधिक समस्या आउँदा हजारौं ग्राहकहरु समस्यामा परेका छन् ।
जेपी मोर्गन चेज, वेल्स फार्गो र बैंक अफ अमेरिकाका हजारौं ग्राहकहरुले सोमबार बैंकिङ सेवा प्रयोग गर्न समस्या भोगेको गुनासो गरेका छन् ।
अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ संस्था चेज बैंकले आफ्नो हार्डवेयर प्रणालीमा देखिएको ‘सफ्टवेयर बग’ का कारण समस्या उत्पन्न भएको हुनसक्ने जनाएको छ । उक्त समस्याले अन्य बैंकका सेवासमेत प्रभावित भएको हुनसक्ने बैंकको भनाइ छ ।
बैंकले समस्यालाई अस्थायी प्रकृतिको भन्दै यसमा प्रणालीगत त्रुटि वा साइबर आक्रमणको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।
सोमबार दिउँसोदेखि सुरु भएको समस्या साँझसम्म आइपुग्दा क्रमशः कम हुँदै गएको थियो । सेवा अवरुद्ध भएको विषय अनुगमन गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार चेज बैंकका सेवामा समस्या आएको भन्दै करिब पाँच हजार प्रयोगकर्ताले रिपोर्ट गरेका थिए ।
चेज बैंकले आफ्ना ग्राहकलाई सूचना जारी गर्दै केही कारोबार पूरा हुन सामान्यभन्दा बढी समय लागिरहेको जनाएको थियो । यद्यपि ग्राहकले आफ्नो खाता र रकममा पहुँच कायम राख्न सक्ने बैंकको भनाइ थियो ।
जेपी मोर्गन चेजको सहायक संस्था चेज बैंकका अमेरिकाभर पाँच हजार शाखा छन् । कम्पनीको वेबसाइटअनुसार यसले ८ करोड ६० लाखभन्दा बढी ग्राहक र ७४ लाख साना व्यवसायलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यो अमेरिका सबैभन्दा ठूलो क्रेडिट कार्ड जारी गर्ने संस्था पनि हो ।
यद्यपि, प्रणालीमा देखिएको सफ्टवेयर समस्याको वास्तविक प्रकृति भने नखुलाइएको बीबीसीले जनाएको छ ।







