काठमाडौँ, १३ कार्तिक । जिल्ला अदालत सिरहाको परिसरबाट हतकडी फुत्काएर फरार भएका एक थुनुवा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ खिरौनाका १९ वर्षीय सतीश दास रहेका छन् । उनी लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेपछि प्रहरी हिरासतबाट अदालत लैजाने क्रममा फरार भएका थिए ।
गत असोज २१ गते ब्राउन सुगरसहित पक्राउ परेका दासलाई असोज २२ गते जिल्ला अदालत सिरहाबाट २० दिनको म्याद थप गरी फर्काउने क्रममा अदालत परिसरबाट हतकडी फुत्काएर फरार भएका थिए ।
फरार भएपछि उनको खोजी तीव्र बनाएको र सोही क्रममा गए राति ११ बजेर ३५ मिनेटमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले नेपाल भारत दशगजा क्षेत्रको सिरहा नगरपालिका–१४ खिरौनाबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







