काठमाडौँ, २५ साउन । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने भनी भइरहेको बहसप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने बताएका थिए । सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले जङ्गलका राजा सिंहका रोचक तथ्य र स्वभावहरू प्रस्तुत गर्दै सिंहको अनुशासन र रक्षात्मक क्षमतालाई राज्यको सुशासनसँग जोडेका छन् ।
उनले लखेका छन्, “सिंहदरबार, राजनीति र जङ्गलका राजा ‘सिंह’ का रोचक तथ्यहरू!
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माननीयज्यूले ‘सिंहदरबार’ को नाम नै परिवर्तन गर्नुपर्ने पैरवी गरेपछि सिंहदरबार र ‘सिंह’ को चर्चा पुनः चुलिएको छ।
यसै प्रसङ्गमा, हाम्रा पुर्खाहरूले सिंहलाई किन शक्ति, सात्विकता र पहरेदारको प्रतीक मानेर मठमन्दिरको ढोकामै सजाएर राखे होलान्? आउनुहोस्, जङ्गलका राजा ‘सिंह’ का केही चाखलाग्दा र रोचक स्वभावबारे चर्चा गरौँ:
अनुशासित सामाजिक समुह: सिंह अन्य जङ्गली बिराला प्रजातिजस्तै एक्लै होइन, एउटा निश्चित र अनुशासित समूह (Pride) बनाएर बस्छ।
इलाकाको कडा सुरक्षा: सिंहले आफ्नो क्षेत्र (Territory) को सुरक्षामा अभूतपूर्व ध्यान दिन्छ र अर्को समूहबाट हुने आक्रमणबाट आफ्नो समुहको रक्षा गर्छ।
शक्तिशाली गर्जन: आफ्नो उपस्थिति र शक्तिको प्रदर्शनका लागि उसले गर्ने गर्जन कोसौँ टाढासम्म (लगभग ८ किमी) स्पष्ट सुनिन्छ।
भूमिकाको बाँडफाँड: भाले सिंह स्वयंभन्दा पोथी सिंहहरू (सिंही) ले मुख्य शिकार गर्छन्, तर शिकारको पहिलो भाग भने समुहको नेता सिंहले नै ग्रहण गर्छ।
निशाचर र शक्ति सञ्चय: दिउँसोको समय आराम गरेर ऊर्जा बचाउने र रातिको समयमा बढी सक्रिय हुने उसको बानी हुन्छ।
आफ्नो दायरामा सीमित: उ बिनाकारण आफ्नो इलाकाभन्दा बाहिर भौँतारिँदैन।
सायद सिंहको यही नियम, अनुशासन, रक्षात्मक क्षमता र गम्भीरताका कारण नै हाम्रा पूर्वजहरूले यसलाई शक्ति र सुशासनको प्रतीकका रूपमा राज्यका संरचना र मन्दिरहरूमा स्थान दिएका हुन् कि!
राज्य आफैँमा शक्तिको प्रतीक हो। नागरिकलाई सुरक्षा र भरोसा दिनु तथा देशद्रोही र अपराधीहरूमा भय पैदा गर्न सक्नु राज्यको मूल विशेषता हो। यतिबेला नेपाल राज्य नै कमजोर बनेको स्थितिमा शक्तिको त्यही बिम्ब (प्रतीक) प्रति नै अनास्था र अविश्वास पैदा गर्नु कत्तिको उचित होला र?






