भक्तपुर, १५ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको छ। तिलगंगा आँखा प्रतिष्ठान तथा चाँगुनारायण नगरपालिकाको सहकार्यमा स्थापित केन्द्रको बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठले उद्घाटन गर्नुभयो।
कार्यक्रमको अध्यक्षता चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले गर्नुभएको थियो। कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। वडा नं. २ का अध्यक्ष सोमप्रसाद प्रधानलगायत स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुरेश श्रेष्ठले चाँगुनारायण नगरपालिकाले स्थानीय तहबाट स्वास्थ्यसहित विभिन्न क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्दै प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने हरेक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले स्थानीय तहको स्वास्थ्य सेवा सुदृढीकरण र विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोगमा कुनै कन्जुसी नगर्ने उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको विकासका लागि निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष सोमप्रसाद प्रधानले स्वागत मन्तव्य राख्दै दुवाकोटमा सामुदायिक आँखा केन्द्र स्थापना हुनु स्थानीय नागरिकका लागि ठूलो उपलब्धि भएको बताउनुभयो। उहाँले अब सामान्य आँखा परीक्षणदेखि विशेषज्ञ उपचारका लागि आवश्यक रेफरल सेवा स्थानीय स्तरमै उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा चाँगुनारायण नगरपालिकाका मोतिबिन्दु भएका नागरिकको निःशुल्क शल्यक्रियाका लागि चाँगुनारायण नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठानबीच सहमतिपत्रमा हस्ताक्षर गरिएको छ। नगर प्रमुख जीवन खत्री र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले सहमतिपत्रमा हस्ताक्षर गरी एक–अर्कालाई सम्झौतापत्र हस्तान्तरण गर्नुभयो।
सम्झौताअनुसार चाँगुनारायण नगरपालिकाभित्रका मोतिबिन्दुका बिरामीलाई तिलगंगा आँखा प्रतिष्ठानमार्फत निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराइनेछ। यसबाट आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुँदै आएका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने वडा अध्यक्ष प्रधानले बताउनु भयो।
कार्यक्रमको अध्यक्षता गर्नुभएका चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्रको स्थापना स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै स्थानीय सरकार स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न निरन्तर प्रतिबद्ध रहेको धारणा राख्नुभयो
नगर प्रमुख खत्रीका अनुसार यसअघि सम्पन्न चाँगुनारायण नगरपालिकाको १८औँ नगरसभाले नगरवासीलाई निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया सेवा उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्ने क्रममा तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्दै सामुदायिक आँखा केन्द्र सञ्चालनमा ल्याइनुका साथै निःशुल्क शल्यक्रिया कार्यक्रमसमेत सुरु गरिएको बताउनु भयो।
कार्यक्रमका वक्ताहरूले समयमै आँखा परीक्षण र उपचार गर्न सके अन्धोपनका धेरै समस्या रोकथाम गर्न सकिने उल्लेख गर्दै सामुदायिक स्तरमा गुणस्तरीय आँखा सेवा विस्तार गर्नु अहिलेको आवश्यकता भएको बताउनु भएको थियो । उहारूले दुवाकोटमा सञ्चालनमा आएको सामुदायिक आँखा केन्द्रले भक्तपुरसहित आसपासका क्षेत्रका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ।
तिलगंगा आँखा प्रतिष्ठानले देशका विभिन्न जिल्लामा सामुदायिक आँखा सेवा विस्तार गर्दै आएको छ। दुवाकोटमा सञ्चालनमा आएको यो केन्द्रले चाँगुनारायण नगरपालिकाका नागरिकलाई नियमित आँखा परीक्षण, परामर्श, औषधि सेवा, चस्मा सम्बन्धी सेवा तथा आवश्यक परे विशेषज्ञ उपचारका लागि रेफरल सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। यससँगै मोतिबिन्दुका बिरामीका लागि गरिएको निःशुल्क शल्यक्रिया सम्झौताले स्थानीय नागरिकको आँखा स्वास्थ्य सेवामा पहुँच थप प्रभावकारी बन्ने विश्वास गरिएको छ।






