विश्वमञ्चमा नेपालको योग गौरव बढाउने ५४ योगहस्तीलाई पातन्जलद्वारा सम्मान


ललितपुर, १५ असार । भारतको अहमदाबादमा सम्पन्न ऐतिहासिक प्रथम विश्व योगासन प्रतियोगितामा नेपालको मान, मर्यादा र प्रतिष्ठा उच्च राख्दै ७९ देशहरूमध्य पाँचौँ स्थान हासिल गर्ने ५४ जना योगहस्तीहरूलाई आज पातञ्जल योग समिति नेपालले जाउलाखेल खेलकुद मैदान, ललितपुरमा भव्य सम्मान तथा अभिनन्दन कार्यक्रमका माध्यमबाट विशेष बधाई ज्ञापन गरेको छ ।

पातञ्जल योग समिति नेपाल जिल्ला शाखा ललितपुरको कुशल व्यवस्थापनमा आयोजित उक्त समारोहमा ४४ जना योग खेलाडी, ३ जना जज, २ जना कोच र ५ जना सहयोगीसहित कुल ५४ जनालाई प्रमाणपत्र, फूल तथा रुद्राक्षमालाद्वारा सम्मान र बधाई प्रदान गरिएको थियो । सम्मान समारोहका क्रममा सहभागी योग खेलाडीहरूले अत्यन्त कठिन योगासनका विशेष प्रस्तुति गरी उपस्थित सबैको मन जितेका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै पातञ्जल योग समिति नेपालका केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले भन्नुभयो-
“यी योग खेलाडीहरूले केवल पदक जितेका होइनन् – उनीहरूले विश्वमञ्चमा नेपालको ध्वज उचालेका छन् । ऋषि पतञ्जलिको योग परम्परालाई आधुनिक प्रतिस्पर्धाको मञ्चमा यति सशक्त रूपमा स्थापित गर्नु साधारण उपलब्धि होइन । पातञ्जल योग समिति नेपाल यी सबै योग साधकहरूको अदम्य साहस, अनुशासन र समर्पणप्रति हार्दिक कृतज्ञ छ । आगामी दिनमा हाम्रो संस्थाले यी खेलाडीहरूको क्षमता विकासमा झनै बलियो साथ र सहयोग प्रदान गर्नेछ ।”

प्रथम विश्व योगासन प्रतियोगिता कार्यक्रमको कुशल संयोजनमा उल्लेखनीय भूमिका खेल्ने नेपाल योग खेलकुद संघलाई पनि विशेष सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानपत्र संस्थाका तर्फबाट उपाध्यक्ष डा. संग्राम पुरीले ग्रहण गर्दै भन्नुभयो-नेपाली योग खेलाडीहरूको यस विश्वस्तरीय सफलता सम्पूर्ण राष्ट्रको गौरव हो र संघ आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा झनै सुदृढ तयारी सहित उत्रने प्रतिबद्धता व्यक्त गर्दछ ।

कार्यक्रम सञ्चालनको क्रममा पातञ्जल योग समिति नेपालका राष्ट्रिय महासचिव तथा संगठन विभाग प्रमुख नबराज काफ्लेले भन्नुभयो -“आजको यो अभिनन्दन समारोह एउटा औपचारिकता मात्र होइन- यो राष्ट्रले आफ्ना योग सपूतहरूप्रति व्यक्त गरेको कृतज्ञताको अभिव्यक्ति हो । १ स्वर्ण, ३६ रजत र १५ काँस्यसहित ५२ पदक- यो आँकडाले मात्र नभई ती पदकका पछाडि लुकेका महिनौँको पसिना, साधना र त्यागले हामी सबैलाई झस्काउँछ। पातञ्जल योग समिति नेपाल यी योगहस्तीहरूको निरन्तर प्रगतिका लागि संस्थागत रूपमा प्रतिबद्ध छ र देशले यिनीहरूबाट अझ उज्ज्वल भविष्यको प्रतीक्षा गर्न सक्छ।”

वागमती प्रदेश योग खेलकुद संघका अध्यक्ष तथा योग गुरु केदारनाथ बस्ताकोटीले यस सम्मान कार्यक्रमले योग खेलाडीहरूको मनोबल उच्च राख्न विशेष टेवा पुगेको उल्लेख गर्दै आगामी दिनमा यस्ता प्रोत्साहनमूलक कार्यक्रमहरूले खेलाडीहरूबाट देशले झनै ठूलो उपलब्धिको अपेक्षा राख्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

योग खेलाडीको तर्फबाट पदक विजेता तारानीधि पन्तले भन्नुभयो-“यो पदक मेरो एक्लोको होइन-यो पातञ्जल योग समिति नेपालको, हाम्रा गुरुहरूको, हाम्रा परिवारको र सम्पूर्ण नेपालको हो । अहमदाबादको त्यो मञ्चमा नेपालको झण्डा माथि उठ्दा मेरा आँखा रसाए- किनकि त्यो क्षण मैले वर्षौँको तपस्याको फल पाएको अनुभव गरेँ । आगामी दिनमा अझ कठोर साधनाका साथ देशका लागि अझ उच्च शिखर चुम्ने प्रण गर्दछु ।”

पातञ्जल योग समिति नेपालका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला शाखा अध्यक्ष कपिल शाहीले
योग खेलाडीहरुका साथ विविध साँस्कृतिक कार्यक्रम सहित २३ औँ राष्ट्रिय धान दिवस पनि हर्षोल्लासपूर्वक मनाइएको जानकारी गराए ।

कार्यक्रममा पातञ्जल योग समिति नेपालको केन्द्रदेखि साधना केन्द्र तहसम्मका प्रतिनिधि लगायत आमन्त्रित महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १५ असार । भारतको अहमदाबादमा सम्पन्न ऐतिहासिक प्रथम विश्व योगासन प्रतियोगितामा नेपालको मान, मर्यादा र प्रतिष्ठा उच्च राख्दै ७९

काठमाडौँ, १५ असार । कलंकी पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बा ९० प ५३४१

काठमाडौँ, १५ असार । काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । पेप्सीकोलाको सूर्यमुखी

काठमाडौँ, १५ असार । ललितपुरमा हत्याको प्र्याङ्क भिडियो बनाएर झुट्टा अफवाह फैलाएको आरोपमा एक महिला पक्राउ परेकी छिन्।  जिल्ला प्रहरी