काठमाडौँ, २९ साउन । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा आईजीपी दानबहादुर कार्कीमाथि भएको व्यवहारबारे गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन् ।
साउन २७ मा आईजीपी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको बीचमा भएको सवाल जवाफबारे आफ्नो र मन्त्रालयको ध्यानाकर्षण भएको गुरुङले बताए ।
आज संसद्कै कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा गुरुङले सो घटनाबारे असन्तुष्टि जनाउँदै भने,‘दिस इज नट राइट, दिस इज नट गुड ।’
उजुरीको भरमा हामी न्यायाधीश बन्न नहुने र आरोप लाग्दैमा कसैको चरित्र हत्या गर्न नपाइने गुरुङले बताए । उनले भने, ‘प्रहरी प्रमुख ज्यूहरुलाई जसरी समितिमा प्रस्तुत गरियो, त्यसमा ध्यानाकर्षण भएको छ उजुरीको भरमा हामी न्यायाधीश बन्न पाइँदैन ।’
लेखा समिति भन्दा कानुन समिति भद्र लागेको गुरुङले बताए । उनले भने, “आरोप लाग्दैमा चरित्र हत्या गर्न पाइँदैन, आइजी सावहरुले गरेको कामको म प्रत्यक्षदर्शी छु उहाँहरूले दिनरात काम गर्नुभएको छ ।”






