प्रधानमन्त्रीबाट गैरजिम्मेवार कूटनीति प्रदर्शन  : कांग्रेस

नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति प्रदर्शन गरेको आरोप लगाएको छ ।

संसद्मा सीमाबारे दिएको अभिव्यक्ति भ्रामक र गैर जिम्मेवार रहेको कांग्रेसको भनाइ छ । संसद्मा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक हास्यास्पद रहेको कांग्रेसको भनाइ छ । देशको कार्यकारी प्रमुखले सार्वभौम संसद्मा बोलेको प्रत्येक शब्द राज्यको आधिकारिक दृष्टिकोण हुने भन्दै अभिव्यक्तिमा खेलाची नगर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । 

जेठ १७, २०८३


सम्माननीय प्रधानमन्त्रीको राष्ट्रहित विपरीतको अभिव्यक्तिप्रति
नेपाली कांग्रेसको गम्भीर आपत्ति र घोर भर्त्सना

नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएको अत्यन्तै संवेदनशील विषय सीमा समस्या का सम्बन्धमा आज सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले सार्वभौम संसद्को रोष्टममा उभिएर दिनुभएको हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ। देशको कार्यकारी प्रमुखले संसद् जस्तो गरिमामय मञ्चमा कुनै ऐतिहासिक तथ्य प्रमाण बिना, हल्का ढङ्गले राष्ट्रिय हित प्रतिकूल हुने गरी राखेका विचारहरू अक्षम्य, आपत्तिजनक र घोर निन्दनीय छन्।

प्रधानमन्त्रीको यो अभिव्यक्तिले एकातिर राष्ट्रिय स्वाभिमानप्रति उहाँको मनसाय र कमजोर राजनीतिक एवं कूटनीतिक चेतको यथार्थलाई छताछुल्ल पारेको छ भने अर्कोतिर कुटनीतिक सीमा संवाद र अन्तर्राष्ट्रिय मञ्चमा देशको कूटनीतिक विश्वसनीयतामाथि नै गम्भीर आघात पुर्‍याएको छ। नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य, अकाट्य प्रमाण र आम नेपालीको राष्ट्रिय भावना विपरीत प्रधानमन्त्रीद्वारा व्यक्त गरिएका सीमा सम्बन्धी गन्तव्यहीन विचारहरू नेपाली कांग्रेसलाई कदापि स्वीकार्य छैन ।

यो अभिव्यक्तिले, ऐतिहासिक तथ्यको अवमूल्यन गरेको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको ३७२ वर्ग किलोमिटर नेपाली भूमिमाथिको गम्भीर अतिक्रमणको विषय र नेपाल भारत सिमानाका जनताका बीचमा रहेको सामान्य प्राविधिक पक्षलाई एउटै डालोमा राखेर संसद्‌मै हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ भनी गर्नुभएको बदनियतपूर्ण अनावश्यक स्वीकारोक्तिले नेपालको स्थापित राष्ट्रिय अडान, सार्वभौमिकता र नेपाली जनताको राष्ट्रिय भावनामाथि क्रूर प्रहार गरेको छ। यसले दुई छिमेकी मुलुक बीच भएको कुटनीतिक माध्यामबाट लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य सिमाना सम्बन्धि विषय सम्बोधन गर्ने सहमतिमा गम्भीर आघात पुगेको छ र यसले नेपालको दाबीलाई स्वतः कमजोर बनाउने आत्मघाती काम गरेको छ।

प्रधानमन्त्री शाहले आजकै अभिव्यक्तिमा सीमा समस्याको विषयलाई लिएर भ्रामक र ग़ैर जिम्मेवार कूटनीति प्रदर्शन गर्नु भएको छ। सीमा समस्या वारे इङ्ल्यान्ड (बेलायत) सँग कुरा भइरहेको’ भनी दाबी गर्नुभएको विषय थप आपत्तिजनक र हास्यास्पद छ। वर्तमान परिप्रेक्ष्यमा दुईपक्षीय सीमा समस्या समाधानका स्थापित कूटनीतिक च्यानल र संयन्त्रहरूलाई नजरअन्दाज गर्दै प्रधानमन्त्रीले कुन आधारमा र के भन्न खोज्नुभएको हो? यसले अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालको परिपक्वतामाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

देशको कार्यकारी प्रमुखले सार्वभौम संसद्‌मा बोलेको प्रत्येक शब्दलाई राज्यको आधिकारिक दृष्टिकोणका रूपमा गम्भीरतापूर्वक लिइन्छ। तसर्थ, दुई देशबीचको संवेदनशील सीमा समस्याका सम्बन्धमा आएको यो घातक भनाइ सरकारको आधिकारिक धारणा हो कि राष्ट्रिय स्वतन्त्र पार्टीको ? अथवा प्रधानमन्त्री बालेन्द्र शाहको नितान्त व्यक्तिगत प्रलाप हो ? यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र सरकारले अविलम्ब संसद् र आम नेपाली जनतासमक्ष स्पष्टीकरण दिनुपर्दछ।

नेपाली कांग्रेस, ऐतिहासिक तथ्य, सन्धि र प्रमाणका आधारमा राष्ट्रिय स्वाभिमान र राष्ट्रिय अखण्डताको रक्षा गर्दै सीमा समस्यालाई वार्ता र कूटनैतिक प्रयासवाट समाधान गर्नका लागि सधैँ प्रतिबद्ध छ। हाम्रा छिमेकी राष्ट्रहरूसंग रहेको आत्मीय, ऐतिहासिक र वहुआयामिक सम्वन्धको आलोकमा हाम्रा विच रहेका कुनैपनि समस्याको समाधान खोज्नु पर्दछ।

तर, देशकै प्रधानमन्त्रीको तहबाट यस्तो राष्ट्रहित विरोधी र कूटनीतिक मर्यादा विपरीतको गैरजिम्मेवार अभिव्यक्ति आउनु दु:खद विषय हो । प्रधानमन्त्रीको यस अभिव्यक्तिप्रति नेपाली कांग्रेस खेद व्यक्त गर्दै घोर भर्त्सना गर्दछ।

जय नेपाल ।

देवराज चालीसे
प्रवक्ता

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४

काठमाडौँ, ८ भदौ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ

काठमाडौँ, ८ भदौ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट