काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
आज प्रेस सेन्टर नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले जेनजी आन्दोलन र त्यसपछिको घटनाक्रमले देशको राजनीति असहज दिशातर्फ गएको बताए । निर्वाचन सम्पन्न भई नयाँ सरकार बने पनि राजनीति अझै सही ट्र्याकमा अघि बढ्न नसकेको उनको भनाइ छ ।
सुकुम्वासी, विद्यार्थी तथा ट्रेड युनियनसम्बन्धी समस्या समाधान नभएको उनको भनाइ छ । उनले भने,“यी विषय अहिले पनि गम्भीर समस्याका रूपमा रहेका छन्,” ।”
संविधान संशोधनका लागि सरकारले तयार पारिरहेको बहसपत्र पारदर्शी नभएको प्रचण्डको भनाइ छ । अध्यादेशमार्फत सरकारले अस्वाभाविक ढंगले काम गरिरहेको उनको आरोप छ ।
उनले भने, “झण्डै दुईतिहाइको सरकारबाट जनताले राम्रो कामको अपेक्षा गरेका थिए । सुरुमा सरकारले १०० दिने कार्ययोजना सार्वजनिक गर्दा आशा जागेको थियो । तर, पछि सरकार संसद्लाई छल्दै अघि बढ्न खोजीरहेको देखियो,” “सरकारका सकारात्मक काममा सहयोग गर्ने र दिएका सुझावलाई बेवास्ता गरिए त्यही तरिकाले अगाडि बढ्ने हाम्रो योजना छ ।”






