काठमाडौँ, ३१ बैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएका छन् ।
आज पोखरामा बिहीबार पार्टीले आयोजना गरेको विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै उनले पछिल्लो समय सरकारले निजी क्षेत्र र सिमानामा सर्वसाधारणलाई सास्ती दिएको उनको भनाइ छ ।
संविधानलाई तलमाथि गर्न खोजे कांग्रेसले रोक्ने उनको भनाइ छ । उनले सरकारले निजी क्षेत्रका व्यक्तिहरूलाई प्रक्रिया र कानुन मिचेर प्रहरी लगाएर उठाउने गरेको भन्दै आपत्ति जनाए ।
उनले भने, “नियम र कानुनले सबैलाई बाँध्नुपर्छ । तर, सरकारले जसलाई मन लाग्यो उसलाई उठाउने र त्रसित बनाउने काम गरिरहेको छ,” ।
सिमानाकामा १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भइरहेको कडाइले जनताहरूले दुःख पाएको उनको भनाइ छ । उनले भने, “म भन्सार लगाउँछु भन्दैमा वर्षौंदेखि जीविका चलाइरहेका नागरिकलाई सास्ती दिन पाइँदैन,” “सरकारमा नभए पनि नागरिकलाई सजिलो बनाउने र सरकारलाई प्रश्न गर्ने जिम्मेवारी कांग्रेसको हो ।”
थापाले कांग्रेसले भौतिक रूपमा भन्दा पनि डिजिटल स्पेसमा चुनाव हारेको टिप्पणी गरे । कांग्रेससँग पर्याप्त कन्टेन्ट भए पनि त्यसलाई जनतासम्म पुर्याउने ‘इन्फ्रास्ट्रक्चर’ नभएकाले अपेक्षित नतिजा नआएको बताए ।
स्थानीय तहको चुनावबारे उनले वडाध्यक्षको उमेदवार केन्द्रले नभई सम्बन्धित वडाका सक्रिय सदस्यहरूले नै छान्ने बताए । “कुन वडामा कसलाई अध्यक्ष लडाउने भन्ने कुरा त्यहीँका सक्रिय सदस्यहरूलाई सोधेर निर्णय गरिनेछ । यसका लागि भोटिङ गरिरहनु पर्दैन, डिजिटल माध्यमबाटै उनीहरूको राय लिइनेछ,” उनले भने ।






