काठमाडौँ, १२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई संसदीय दलको नेता चयन गर्न सकस परेको छ । निर्वाचन प्रक्रिया स्थगित गरेर सहमतिमै दलको नेता चयन गर्ने प्रयास भइरहेपनि अहिलेसम्म कुरा मिलेको छैन ।
हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमतिमै दलको नेता छान्नको लागि शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको थियो । दलको नेता चयन गर्नको लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो।समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे र निर्वाचन समितिको संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली रहेका छन् ।
महामन्त्री प्रदीप पौडेलले सहमतिको लागि छलफल भइरहेको बताए । उनले भने, ‘हामीले सहमतिबाटै गरौँ भनेर हिजोदेखि निरन्तर गृहकार्य गरिरहेका छौँ। सकेसम्म हाम्रो सहमतिकै प्रयास रहन्छ। नभए प्रक्रिया अघि बढाउँछ।’
उनले आज सहमति जुट्ने सम्भावना नरहेको भन्दै भोलिभन्दा पर नधकेल्ने बताए । दलको नेतामा कांग्रेस भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी, मोहन आचार्यको दाबी छ ।
नेता केसीले आफ्नो नाममा सहमति जुटे मात्रै दलको नेता हुने बताइसकेका छन् । निर्वाचन भए नलड्ने उनको स्पष्ट सन्देश छ । पार्टीका पाका सांसद भएकाले केसीको नाममा सहमति जुटाउनुपर्ने मत बलियो छ। तर, त्यसको विपक्षमा उपसभापति विश्वप्रकाश शर्मा सार्वजनिक रूपमै उभिइसके ।






