काठमाडौँ, १२ बैशाख । नेकपा (एमाले)को महासचिव शंकर पोखरेलले सुकुम्बासीहरुलाई मानवीय व्यवहारका साथ अविलम्ब न्याचोति समाधान दिनुपर्ने बताएका छन् ।
थापाथलीको सुकुम्बासी बस्ती खाली गराएपछि सामाजिक सञ्जाल मार्फत प्रतिmक्रिया दिंदै पोखरेलले सुकम्बासीहरुले अदृष्य त्रास र आतंकको छायाँमा सरकारको आदेश पालना गरेको तर्फ लक्षित गर्दै बाध्य भएर घरबास छोडेका श्रमिकको आँखा र अनुहारमा पिडा देख्नु पर्ने बताएका छन् ।
‘गरिब र श्रमिकहरुको हातले शहर उठ्यो,तिनकै पसिनाले सडक बजार र बस्ती गुल्जार भए’ महासचिव पोखरेले लेख्छन् ‘आज उनीहरु बाध्य भएर बस्तीबाट टाढिंदै गर्दा केवल नियम पालना भएको उत्सव बनाउनु पर्याप्त होइन । उनीहरुको बेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी हो । ’
पूर्ववर्ती सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्नका लागि कानुनी जटिलता महसुष गरेर भूमी आयोग मार्फत समाधानको प्रक्रिया अघि बढाएको पोखरेलले स्मरण गराएका छन् । उनले लेखेका छन् ‘जनताको लोकप्रिय जनादेश पाएको बालेन सरकारले समस्याबाट आक्रान्त जनताको विश्वास र भरोसालाई सम्मान गर्दै अविलम्ब मानवीय व्यवहारका साथ न्यायोचित समाधान दिनुपर्दछ ।’
पोखरेलले सुकुम्बासीको भरोसा टुटेमा त्यसले निम्त्याउने बिस्फोटक विद्रोहप्रति पनि सरकारलाई सजग गराएका छन् ।






