काठमाडौँ, १२ असोज । गएको बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ ।
हालसम्म ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँचजनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार, विपद्का घटनामा परी १७ जना बेपत्ता छन् । १७ जना घाइते भएका छन् ।
बाढीपहिरो तथा डुबानमा परेका एक हजार ३१५ जनाको उद्धार गरिएको उनले बताए । बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्केका छन् । भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।
काठमाडौँमा एक हजार ३२४, ललितपुरमा ५०० र भक्तपुरमा ४१७ गरी उपत्यकामा दुई हजार २४१ घर डुबानमा परेका छन् । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा एक हजार १०० र भक्तपुरमा ३५० प्रहरी खटाइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए ।






