काठमाडौँ, १२ भदौ । कांग्रेस सभापति शेरबहादुर देउवाले महासमितिबाट पारित पार्टीको वैचारिक दस्ताबेजमा चुनावी गठबन्धन र नेताहरूको ‘एक्जिट पोलिसी’ को विषय राख्ने कि नराख्ने भन्ने विषयमा समझदारी बनाउन मंगलबार बोलाएको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
देउवा निवास बुढानीलकण्ठमा पार्टीका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित गृहमन्त्री तथा केन्द्रीय सदस्य रमेश लेखक सहभागी बैठकमा समझदारी नजुटेपछि बुधबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अर्को साता (आइतबार) सम्मका लागि सरेको छ ।
गत फागुनमा काठमाडौंमा सम्पन्न महासमिति बैठकबाट पारित चुनावी गठबन्धन नगर्ने प्रस्तावसहितको महामन्त्री थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’ समेटिएको राजनीतिक दस्ताबेजलाई लिएर पार्टीभित्र चर्को मतभेद छ ।
पार्टी सभापति देउवासहित संस्थापन पक्षीय नेताहरू यी दुवै विषयलाई प्रतिवेदनबाट हटाउने पक्षमा छन् भने महामन्त्री थापा र शर्मा भने कायमै राख्न चाहन्छन् । महामन्त्री थापाको चुनावी गठबन्धनको विषयभन्दा पनि नेताहरूको ‘एक्जिट पोलिसी’ को प्रावधानप्रति अधिकांश केन्द्रीय सदस्यको आपत्ति छ । सभापति देउवा भने विवादित विषयलाई अनौपचारिक समझदारी बनाएर मात्र केन्द्रीय कार्यसमिति बैठक राख्ने पक्षमा छन । दस्ताबेजमा सहमति नहुँदा केन्द्रीय समिति बैठक साउन २८ देखि सर्दै आएको छ ।
थापा र शर्माले भाषामा परिमार्जन गर्न सकिने भए पनि उद्देश्य संशोधन नहुने गरी यी विषयलाई दस्ताबेजबाट हटाउन नहुने अडान लिएका छन् । दुवै प्रतिवेदन केन्द्रीय कार्यसमितिमा छलफल भएर एक पटक पारित भइसकेको हो । महासमितिमा प्रस्तुत गर्नुअघि पार्टीका सबै प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट पारित गरिन्छ ।