काठमाडौँ, १ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अहिले कोशी, बागमती र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। केही भूभागमा हावाहुरी समेत चल्नेछ । कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज सूर्योदय बिहान ५ बजेर ४१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २८ मिनेटमा हुनेछ ।