काठमाडौँ, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन २०३० सम्म दिगो विकासको लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नु पर्ने बताएका छन् ।
आज उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै सन २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुनका लागि समेत सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नुको विकल्प नरहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
यस्तै लगानीको वातावरण सुधार गर्नका लागि बैशाकमा लगानी सम्मेलन आयोजना गर्न लागेको दाहालले बताए । लगानी सम्मेलनमार्फत स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीका लागि आकर्षण गर्न एकै पटक १२ वटा कानुन संशोधन गर्न लागेको उनको भनाई छ ।
सम्भव भएमा सांसदबाट र नभए अध्यादेशमार्फत नै कानुनी व्यवस्था सुधार गरेर लगानीको ढोका खोल्नतर्फ ध्यान केन्द्रित गरेको प्रधानमन्त्रीको भनाई छ ।