संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, ३ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छिन्।

संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय एकता र समाजवादोन्मुख अर्थव्यवस्थाका लागि संविधानले महत्त्वपूर्ण दिशा देखाएको बताइन् । नेतृत्वले जनताको विश्वास आर्जन गर्न नसकेको अवस्थामा संविधानका सुन्दर अक्षरहरू निष्प्राण बन्न पुग्ने र जनताको विश्वाससमेत धर्मराउन थाल्ने उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले समाजमा देखिने आत्मकेन्द्रित प्रवृत्ति, भ्रष्टाचार, गलत आचरण र अनुचित कार्यहरूले जनताको बलिदानबाट निर्मित संविधान र राजनीतिक प्रणालीलाई कमजोर बनाउने बताइन् ।

भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, “हाम्रो संविधानले सबै प्रकारका सामाजिक विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ । यसले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनालाई साकार बनाउन समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि मार्गदर्शन गरेको छ ।”

समाजवादोन्मुख अर्थतन्त्रको लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा ऊर्जाशील युवाशक्तिसहित मानवीय संसाधनको दिगो सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गरिनुपर्नेमा पनि उनले जोड दिइन् । मुलुकको बृहत्तर हित र राष्ट्रिय विकासका लागि संविधान केबल साधनमात्र रहेको र त्यसको विवेकपूर्ण उपयोगमार्फत जनता र राष्ट्रको समग्र भलाई खोज्ने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा रहेको भण्डारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, १३ असार । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका