काठमाडौँ, ३ बैशाख । परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताउनुभएको छ ।
नेपाल जाईका अलमनाई एशोसिएसनले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढ्नुपर्ने बताउनुभयो । जापानले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गर्दै उहाँले भूकम्प गएको बेला होस् वा कोभिडको बेला जापानले नेपालमा ठूलो मानवीय सेवाको क्षेत्रको काम गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जापानले हामीलाई अप्ठ्यारो परेको बेलामा चाहे भूकम्पको बेलामा होस्, चाहे कोभिडको बेलामा होस् । जापानले धेरै ठूलो मानवीय सेवा उपलब्ध गराएको छ । यसका लागि पनि म जापान सरकारलाई नेपाली जनता र नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । जापान गएका नेपालीहरुको जान, सीप र अनुभव उपयोग गर्नुछ । मुलुकको समृद्धिका लागि विकास लागि त्यो अति उपयोगी छ ।’





