चितवन, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताएका छन् । चितवनमा सुरु भएको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै ओलीले नेपालले सबै छिमेकी राष्ट्रहरूसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्ने चाहेको बताए । नेपालले सबै छिमेकी राष्ट्रहरूसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्ने चाहेको बताए ।
‘लिम्पियाधुरा लिपुलेक र कालापानीको हाम्रो भूगोल हामी नेपालको नक्सामा समेटेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ । तर, त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ,’ उनले भने, ‘हामी छिमेकीसँग संवादको माध्यमबाट त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ । त्यसैले हामी त्यो जमिन फिर्ता लिएर हामी वास्तविक मित्रता, वास्तविक छिमेकीको सम्बन्ध कायम गर्न चाहन्छौँ ।’
अध्यक्ष ओलीले अब चुनावको तयारीमा जुट्ने बताएका छन् । अध्यक्ष ओलीले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’ ‘देश बनाउन, लोकतन्त्र, संविधानको रक्षा, कार्यान्वयन र सही व्याख्या गर्नका लागि एमालेले बहुमत ल्याउनुपर्छ ।’
अध्यक्ष ओलीले छोटो समयभित्रै देशलाई साधनस्रोत सम्पन्न बनाउनका लागि पनि एमालेले अगामी निर्वाचनमा बहुमत ल्याउनुपर्नेमा जोड दिए उनले भने, ‘दीगो विकास लक्ष्य ९ वर्षभित्रै हासिल गरेर, छोटो समयभित्रै साधनस्रोत सम्पन्न बनाउनका लागि एमालेले बहुमत ल्याउनुपर्छ ।’
हिजो इतिहासमा रगत बगाएर देशलाई यहाँसम्म ल्याउन बलिदान गरेको पार्टीको महाधिवेशन भइरहेको उनको भनाइ छ । उनले भने–‘आजका समस्याहरू ठिक ढंगले पहिचान गर्ने र समस्याहरूलाई समाधान गर्ने ऐतिहासिक अभिभारा बोकेको पार्टी हो यो । सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिभारा बोकेको, आर्थिक सामाजिक समस्या समाधान गर्नै अभिबारा बोकेको पार्टी हो । हामीले संघर्षका ७२ वर्ष पार गरेका छौँ ।’