काठमाडौँ, २४ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले लकडाउन भन्दाअघि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदम चाल्न सरकार तयार रहेको बताए ।
उनले भने, ‘हामी यो चाहँदैनौं कि नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस् । लकडाउन भन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरु छन् सरकार ती सबै कदम चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ ।’
लकडाउनले कोभिड नियन्त्रण गर्न कम हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको मन्त्री त्रिपाठीको भनाइ छ । छिमेकी मुलुकमा कोभिड-१९ को नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले बताए । यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टिन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे ।