काठमाडौँ, २९ पौष । नेपाल एसबिआई बैंकका शेयरधनीहरुले चुक्ता पुँजीको ९.४७% लाभांश प्राप्त गर्ने भएका छन् । बैंकको २७औँ वार्षिक साधारणसभाले उक्तप्रस्ताव पारित गरेको हो ।
सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पुँजीको ९.४७ प्रतिशतका दरले लाभांश (६% बोनश शेयर र ३.४७% नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।सभाले बैंकको आ.व. २०७६/७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६÷७७ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।
साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७६/७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । उक्त साधारणसभाले आ.व. २०७७/७८ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोयिसट्स्, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।