काठमाडौँ, १४ साउन । धिताेपत्र बजारमा शेयर काराेबार मापक नेप्से परिसूचक बुधबार २३ दशमलव ३६ अङ्कले घटेको छ ।
बुधाबार नेप्से परिसूचक घटेर १४ सय ३१ दशमलव ५२ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । यस्तै ‘क’ वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बुधबार पाँच दशमलव १८ अङ्कले घटेर तीन सय दशमलव ४९ अङ्कमा झरेको छ ।
बुधबार सबै समूहको उपसूचक ओरालो लागेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको एक सय ९० दशमलव ८२ र निर्जीवन बीमा समूहको एक सय ५९ दशमलव ८७ अङ्कले उपसूचक घटेको हो । दिनभर एक अर्ब ६८ करोड रुपैयाँ बराबरका ३८ लाख ३९ हजार कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम भने मङ्गलबारकाे तुलनामा धेरै हो । मङ्गलबार एक अर्ब ५९ करोड रुपैयाँ बराबरका शेयर कारोबार भएको थियो ।
बुधबार नेपाल रिइन्स्याेरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै १५ करोड ७१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको १० करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
युनियन हाइड्रोपावर लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाए पनि जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले साढे ९ प्रतिशत गुमाएका छन् ।