तेजबहादुर ढकाल
आज हामी १३१ औ अन्तराष्ट्रीय श्रमिक दीवस मनाई रहेका छौं । १९ औं शताब्दिमा यूरोपका उद्योगपतीहरुले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रमशोषण गरीरहेको कहालीलाग्दो परिस्थितिकाबीच त्याहाँका मजदुरहरुले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता,उपयुक्त श्रमज्वाला, उचित विदा सुविधा र श्रम वातावरणको लागि एकीकृत हुने उद्घघोस गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माँग गरे । संयुक्त राज्य अमेरिकाको सिकागोमा यही माग सहीतको मजदुरहरुको शान्तिपूर्ण पर्दशनकारीहरुमाथी गोली चलाउंदा थुप्रै प्रदशनकारीको हत्या भयो र ४ में का दिन आक्रोसित पर्दशनकारीद्वारा बमविष्फोट गर्दा ४ प्रहरीसहीत ७ जनाको मृत्यु भयो, त्यसपश्चात घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रुपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी दिइयो । यसकै ३ वर्षपछी फ़्रैन्च सोसलिष्ट पार्टीले ले मे १ लाई श्रमीकहरु एकीकृत हुने घोषणा गरेको दिनलाई अन्तराष्ट्रीय श्रमिक दीवसको रुपमा मनाउने घोषणा गर्यो । हामी पनि यो दिनलाई बर्षेनी मनाउंदै आयका छौं । तर पनि जतिसुकै ठूलाबडाबाट राजनैतिक क्रान्ति भएता पनि श्रमिकको सम्पूर्णसमस्याहरू सम्बोधन हुन सकिरहेको छैनन् । पूँजीपति र श्रमिकहरू बीचको संघर्ष अहिले पनि जारी छ । त्यसैले यो समस्यालाई सामाजिक सौदाबाजी मार्फ़त सामधान गर्दै र श्रमलाई समृद्दिसंग जोड्दै बैज्ञानिक समाजबादको मार्गमा अगाडि बढ्नु आजको आवश्यकता हो ।

सामान्यतया पूजीपतिहरू अर्थतन्त्रका ईन्जिन हुन भने गरीबहरू अर्थतन्त्रका ईन्धन हुन् । दुबैको आपसी समन्वय र सहकार्य बिना अर्थतन्त्र चलायमान हुदैन । द्वन्दातमक भौतिकबादका नाममा बर्ग संघर्ष मात्र गर्ने हो भने कहिले पनि स्थिरता आउदैन । स्थिरता आएन भने नयॉं कल कारख़ाना खुल्दैनन् । श्रमजिवीहरूको रोजगारीको अवसर पनि खुम्चिदै जान्छ । हामीले मार्कसबाद, द्वन्दात्मक भौतिकबाद वा निषेध का निषेधको सिद्धान्तलाई सही अर्थमा बुझ्न सकेनौ भने जतिसुकै ठूलो राजनैतिक क्रान्ति गरे पनि श्रमजिवी जनताहरूको सामाजिक र आर्थिक रूपान्तरण गर्न सक्दैनौं । किनभने हामीले यसलाई बर्ग संघर्षको सिद्धान्तकारूपमा मात्र बुझिरहेका छौं की भन्ने भान हुन्छ । वास्तवमा निषेध को निषेधको सिद्धान्त भनेको विपरितहरू बीचको द्वन्दको सिद्धान्त नभै एकताको सिद्धान्त हो । तर त्यो एकता भने बिपरीतहरू बीचको द्वन्द र उक्त द्वन्दहरूको सामधानका माध्यमबाट हासिल हुन्छ भन्ने मार्कसबादी दर्शनलाई सही अर्थमा बुझ्नु जरूरी छ ।

वास्तवमा कम्युनिष्ट घोषणापत्रका मस्यौदाकार कार्ल मार्क्स र फ्रेडरिक एंगलस् हुन् । सुरुमा एक जना श्रमजिबी र अर्का उद्धमी हुन ।कार्ल मार्क्सको पछि छापिएका संयुक्त कृतिहरुमा पनि एंगलसले आफ्नो नाम नराख्नु उनको महानता हो । तर हाल सम्मका अधिकांश श्रमजीवी जनता तथा मार्क्सवादी नेताहरुले कम्युनिस्ट घोषणापत्र श्रमजीवी र उद्यमी दुबैको संयुक्त घोषणापत्र हो भनी स्वीकार गर्न नसकिरहेको आभास हुन्छ । बर्ग संघर्ष र राजनैतीक उपलब्धि पश्च्यात आपसी बिभेदको समाधान गरि एकता कायम गर्न सकेको देखीदैन । फलत बर्ग संघर्ष र सत्ता परिबर्तनको राजनैतिक पाटो मात्र सतहमा आएको छ । आर्थिक उन्नति र समृद्धिको पाटो भने अझै गुमनाम छ । पारस्परिक लाभको बाटो राम्ररी खुल्न सकेको छैन । कैचीको एउटा मात्र धारले नकाटे जस्तै र एक पाटो मात्र भएको सिक्का नचले जस्तै समाजको आर्थिक रुपान्तरणको मुद्दा अझ पेचिलो बन्दै गएको छ ।

यसकालागि पहिलो सर्त देशले उपयुक्त आर्थिक प्रणाली अबलम्बन गर्नु जरूरी छ । अहिले हाम्रो देशमा कम्युनिष्टहरूको एक मना सरकार भएता पनि हामी कमाण्ड ईकनोमी लागू गर्ने अबस्थामा छैनौं । अहिले हामीले अवलम्बन गरेको मिश्रित अर्थतन्त्र सुन्दा राम्रो छ तर हाम्रो विविधताका कारण राम्ररी काम गर्न सकिरहेको छैन । पुरानो आत्मनिर्भर अर्थतन्त्रको भरमा हामी बाच्न त सक्छौं तर धनी बन्न सक्दैनौं । खुल्ला बजार अर्थतन्त्रमा हामी भारत र चीनसंग प्रतिश्पर्धा गर्न सक्दैनौं । तर हामीलाई प्रतिश्पर्धा पनि गर्नु छ धनि पनि बन्नु छ । नेपालका सन्दर्भमा पारस्परिक लाभप्रद आर्थिक प्रणाली नै उपयुक्त देखिन्छ जसमा कुनै पनि परियोजना छनौट गर्दा सबै स्टेक होल्डरहरूलाई लाभदायक हुनु पर्दछ, जस्तो स्थानीय जनतालाई आय र रोजगारी, लगानीकर्तालाई नाफा, बैकलाई ब्याज, देशलाई ख़ुद आर्थिक लाभ र वातावरणमा कम क्षति । अब राज्यले यस तर्फ ध्यान दिनु जरूरी छ ।

अन्त्यमा काम नगरी बसी बसी खान पुग्नेलाई लगानी गर्न लगाई काम नगरी खान नपुग्नेलाई रोजगारीको सृजना गर्नु आजको आवश्यकता भएकाले १३१औं अन्तराष्ट्रीय श्रमिक दीवसको उपलक्षमा श्रमिक र उद्धमी दुबैको समन्वय र एकताबाट बैज्ञानिक समाजबाद तर्फको यात्रा अगाडि बढोस भन्ने शुभकामना ब्यक्त गर्दछु ।
काठमाडौँ, नेपाल







