अहिले सारा विश्व कोरोना भाइरसको माहामारी रोकथाम तथा नियंत्रणको महाअभियानमा छ । यसबाट बच्ने र आफ्ना नागरिकहरुलाई बचाउन अनि यसको औषधी पत्ता लगाउने र कसरी हुन्छ यस माहामारीबाट सुरक्षित हुन सकिन्छ भनेर सारा विश्व दौड धुप गरिरहेका छन् । हाम्रो सरकारले पनि आफुसँग भएको क्षमता, उपलब्ध साधन श्रोत र अवस्था अनुसार यस काममा लागिपरेको छ । जसरी विश्व महामारी निर्मुलिकरण गर्न खटीरहेको छ, त्यो भन्दा बढ्ता हाम्रा नेताहरुले वर्तमान सत्ता ढालेर यो बिसम परिस्थितीमा आफु सर्वशक्तिमान बन्न न त दिन भनेका छन न त दिन नै । साझ बिहान केहि नभनी ‘ओभर टाइम’ खट्दै गरेको दृस्य नेपाली राजनीतिक परिप्रेक्षमा हामी देख्दै छौं । बढो अचम्मकै दौड धुप गरिरहेको देखिन्छ ।
यतिबेला नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुगेको छ । घटनाक्रम यसरी नै विकास भए नेकपा दुर्घटनामा पर्नसक्छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न प्रभावशाली नेताहरु सक्रिय भइसकेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो कोटेश्वरमा पुगेर माधवकुमार नेपाललाई प्रधानमन्त्री पदको प्रस्ताव गरिसकेका छन् । नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुको छुट्टै भेला गरी सुझाव लिएपछि प्रचण्डसँग छलफल गरेका थिए । प्रचण्डले ओली हटाउन माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।
ओलीलाई असफल सिद्द गराएर हटाउने अभियान चलिरहँदा दुई विवादास्पद अध्यादेश ल्याएर विवादमा पर्दा प्रचण्डले उपयुक्त अवसर देखेका छन् । यसका लागि उनले विगतमा जस्तै ‘ढाडमा टेकेर टाउकामा हान्ने’ रणनीति अपनाएका छन् । उनले जनयुद्ध देखि नै ढाडमा टेकेर टाउकामा हान्ने रणनीति अपनाउने गरेका थिए । यसपटक उनले ओलीलाई प्रहार गर्न माधव नेपालको ढाडमा टेक्न खोजेका छन् । प्रचण्डको स्वभाव, महत्वकाङ्क्षा, चरित्र र सोचको स्तर विश्लेषण गर्दा उनी आफ्नो राजनीतिक जीवनको सर्वाधिक तनावमय र संसयको स्थितिबाट गुज्रँदै छन् भन्ने निष्कर्षमा पुगिन्छ । प्रचण्डको राजनीतिक जीवन प्रयोगवाद र उपयोगितावादको चक्रमा सीमित रहँदै आएको छ । हजारौँ मानिसले ज्यान गुमाउने, लाखौँ मानिस स्वदेशभित्रै शरणार्थी बन्ने र पचासौँ वर्ष देश पछाडि पर्ने गरी क्रान्तिको नाममा हिंसात्मक सङ्घर्ष शुरु गर्ने प्रचण्डले विगतमा उठाउने गरेका रङ्गी–बिरङ्गी र बेढङ्गी मुद्दाहरूलाई तिलाञ्जली दिँदै ‘एमाले पथ’लाई स्वीकार गरेका कारण पार्टी एकीकरणलाई माओवादीको एमालेमा विलय भएको हो ।
प्रचण्ड तथा उनको निर्देशनमा भएको हिंसात्मक युद्धकालमा पनि शुरुको पाँच वर्ष तात्कालिक राजा वीरेन्द्रका कारण ‘सुरक्षित’ ठान्ने उनी २०५८ पछिको पाँच वर्ष छिमेकी मित्रराष्ट्रबाट प्राप्त ‘स्नेह’का कारण कुण्ठित महसुस गर्नु नपर्ने तहमा रहेको ठानिन्थ्यो । आफ्नो निजी राजनीतिक एवम् आर्थिक महत्वकाङ्क्षा पूरा गर्न क्रान्तीको जलप लगाउन सिपालु प्रचण्डमा कुनै खास समयमा विगतको अमेट्य गल्तीका निम्ति प्रायश्चित भाव उत्पन्न हुनु वा नहुनुको मूल्य त्यतिबेलै निर्धारण हुनेछ । अहिले ओलीलाई असफल बनाउन प्रचण्डले माधवकुमार नेपालको ढाडमा टेकेर प्रहार गर्न खोजिरहेको देखिन्छ । यसलाई ओलीले कसरी सामना गर्छन् हेर्न बाँकी छ । ओली पनि प्रचण्डको टाउकोमाथि तरबार झुण्ड्याएर कमजोर बनाउन लागिपरेका छन् । यसले नेकपाभित्रको द्धन्द्धको राजनीतिले ठूलै राजनीतिक उथल-पुथलको मार्ग कोर्न सक्ने देखिन्छ ।
देशलाई आफ्नो राजनीतिक एजेन्डामा हिडाउन सफल प्रचण्डले अनेकन पात्रहरुलाई उचाल्ने र साइजमा ल्याउने गर्दै आएका छन् । यस क्रममा उनी बेलामा बेलामा चुक्ने पनि गरेका छन् । प्रचण्डले गणतन्त्र र संघीयताको आफ्नो एजेन्डामा देशलाई बढाउने क्रममा यस अघी शेर बहादुर देउवालाई काधमा उचालेर लास्टमा फेद काट्न चालेका कदम होस वा ओली नेतृत्वको पहिलो सरकार गठन र बिघठनमा खेलेको खुरापाती भूमिकाको बारेमा जनता एबम कार्यकर्ताले लगाउदै आएका आरोप के कत्ती सत्य हुन वा होईनन त्यो सबैले मनन गरेकै छन् ।
हामी भोटर हरुलाई अझै कतीनजेल गुमराहमा राख्ने मनसाय छ कमरेड रु अब त जनता पहिलाको कस्तो एकोहिरो र जे भन्यो त्यो सजिलै पत्त्याउने वाला छैनन कमरेड । “सामन्ती सर्बसत्ता नढलेसम्म, सर्वहारा वर्गको शासन नआए सम्म हाम्रो ज्यान को कुनै परवाह छैन, हामी टाउकोमा राता फेटा बाधी बलिदानी दिन पनि पछी हट्दैनौ” भनेर गाउघरका सोझा(सिधा गरीब दाजुभाइ दिदीबहिनी हरुलाई हिजो यो माथी उद्गारित वाक्य कण्ठै गर्न घोकाए ।
सबैले सोही अक्षरस घोके पनि तर उनिहरुले निहित स्वार्थ त्यतिबेला मात्र बुझे कि, शासनमा पुगेपछी त त्यो केवल आफ्नै छोरीलाई मेयर बनाउन, बुहारीलाई मन्त्री बनाउन, सम्धीलाई राजदुत बनाउन, भाइ भारदार्, नातागोता आफन्त हरुलाई राज्यबाट जती सक्दो स्रोत साधन दिलाएर भुडी भराउन्, अरबौको लगानी अरु कै नाममा बि एण्ड सी अस्पताल जस्तो बिवादास्पद कम्पनीहरुमा लगानी गरेको तर सम्पती विवरणमा एक घडी र दुइ कट्ठा जमिन उल्लेख गरेको पनि राम्रैसँग भेउ पाइसकियो । अनी क्रान्तीमा लाग्ने सच्चा सिपाहीहरु कि त अयोग्यताको उपमा लिएर तीनरचार लाख लिएर धपाइए, कि त अपाङ्ग भएर माग्दै जिवन गुजार्दै छन कि त खाडी लगाएतमा मुलुकमा या आफ्नै भुमीमा अत्यन्तै निकृस्ट किसिमको श्रममा रुदै खटी दुइ छाक टार्न जोतिइरहेका छन ।
अब एकलौटी रुपमा प्रचण्ड पार्टीको अध्यक्ष बन्ने अवसरबाट वञ्चित भए भने यही निहुँमा तिनले पार्टीभित्र आँधी–बेहरी सिर्जना गर्नेछन् र अध्यक्ष बने भने उनको सहयोगी या चर-अनुचर बन्न नसक्ने स्वाभिमानी नेता तथा कार्यकर्ताहरू पार्टीबाट भाग्नुपर्ने अवस्था बन्ने निश्चितप्रायः छ । यि सबै तिक्डममा माकुने इतरका केहि नेताहरुले प्रचण्ड कमरेडको निहित उद्देश्य बुझ्न नसक्नु इतिहास कै ठूलो भुल हुनेछ कि काधमा टेकेर टाउकामा हान्न खप्पिस प्रचण्डले कालन्तरमा अर्को शिकार उनिहरुलाई बनाउने निश्चित प्राय छ, मात्र ढिलो चाडोको कुरा हो । सदा-सर्बदाको फोहोरी खेलको क्याप्टेनले कोच गरेको उनिले सिकाएका राजनैतिक विद्यालयबाट हामी विद्यार्थीहरुले के सिक्नु ? उहाहरुले नै हो हामी कार्यकर्तालाई स्थिर सरकार निर्माणका लागी कम्युनिस्ट पार्टीमा भोट माग्न निर्वाचनमा अर्हाउनु र खटाउनु भएको । उहाँहरु कै आदेशले नै हो हामी जनताका घर दैलोमा गएर हात जोड्दै “थिरताका खातिर हाम्रो पार्टीलाई भोट दिनुहोस्” भन्दै हिडेको ।
तर अहिले २ साल नपुग्दै अनेक बखेडा निकालेर अस्थिरता निम्त्याउन अग्रसर भएको देख्दा आफ्नो मत र मन दिएर जिताएर पठाउने जनताहरुसँग कुन मुख लिएर जानु हामी रु यो प्रश्नको उत्तर हामी कार्यकर्तालाई चाहियो कमरेड । के जनताको घर दैलोमा अझै पनि दात ङिच्च्याउदै जानु हामी ? हाम्रो स्कूलको हेड सर हो तपाइ, अब तपाइको स्कूलबाट हामी के सिक्ने अध्यक्ष कमरेड ? माधव कमरेड हाम्रै नेता हुन, बामदेव, जे.एन., प्रचण्ड सबै हाम्रै नेता हुन तर नेताजीहरुको यस्तो दोधारे चरीत्रले हामीलाई निरुत्साहित बनाएको छ । उमेर बढी भएकै कारण तपाइहरुले नेकपालाई यहाँ पुर्याउन पक्कै हामी भन्दा धेरै घामपानी खेप्नु भो होला तर हाम्रो आफ्नो उमेर अनुसार आफ्नो ठाउबाट त्यो भन्दा कम खटिएको छैनौं हामी कार्यकर्ताहरु पनि, त्यसैले नेकपाको एक सच्चा कार्यकर्ताको नाताले मैले यस्ता प्रश्नको उत्तर माग्ने मेरो अधिकार सुरक्षित छ ।
मदन भन्डारीले तयार गरेको पार्टीको लोकप्रियताको ब्याज १५ बर्षसम्म खाएर पार्टीलाइ रक्षात्मक हालतमा पुर्याएर छोडेर भाग्ने माधव नेपाल अब ओलीले बनाइदिएको पार्टीको लोकप्रियताको ब्याज खान ज्यान फालेर लागेका छन् । उनको पुच्छर समाएर पद ढुकेर बसेकाहरु जुगा झै सल्बलाएका छन । त्यस्तो अट्याकलाई ओलीलाई समर्थन गर्ने हामी जस्ता कार्यकर्ताहरुले चाही के काउण्टर अट्याक गर्दैनन होला र ? यीनले ‘कु’ गरेर पदै प्राप्त गरेछन भनेपनि सजीलै खाउँला भन्ठानेका छन् ? यस्तो दिवास्वप्न नदेखे हुन्छ । कुर्शीको बार्गेनीङमा फुर्सदै नदिने अनि त्यसैमा टेकेर फेरी अर्को बार्गेनीङ गर्ने । यी लामा सुँड भएकाहरुलाइ यो देश र जनताको कुनै मतलव छैन भन्ने देखिन्छ ।
अरुणा लामाको गित जस्तै पोहोर साल खुशी फाट्यो, त्यसलाई ओलीले टालिदिए । अर्को साल फेरी खै फाट्यो, त्यसलाई पनि सिलाईदिए । यसपाली त झनै पुरै मन नै फाटेको हुँदा त्यसलाई पनि केहि न केहिले सिउनै पर्ने ओलीलाई बाध्यात्मक अवस्था छ । माकुने कमरेड र प्रचण्ड कमरेडको दुखी आत्मालाई खुशी बनाउँदा बनाउँदै यो कार्यकाल सकिन लागिसक्यो ओलीको । भागबंडावादी र स्वार्थवादी नेताहरुको पछि लागी पार्टी भित्रको घाउ कोतर्नु भन्दा पार्टी जोगाउनमा लागौं । ‘पार्टी रहे मात्रै तपाई हाम्रो अस्तित्व रहन्छ, हैन भने तपाई हामी केहि पनि होईनौ’ कुराको ख्याल गरौ है साथी हो । विश्व कम्निस्ट ईतिहासको हविगत हेरर त नपलाएको बुद्धि ! अरुके हेरेर पलाउने हो समयले बताउला । सबैको परिक्षण जनता हरुले गरिसके । सबैलाई मौका दिइ नै सके जनताले । त्यी भएका मध्य उत्तम त केवल ओली नै थिए र छन पनि । यस अघी सबैको नाडी छामी सकियो । कत्तीनजेल खेल्ने यस्तो फोहोरी सत्ताको खेल ? मानौ ओली बाहेक अरु कुनै ए बि सि डी नै आए पनि कुनै लछार्पाटो लाउने होईन ।
पार्टी भित्र उतपन्न भएको घाउमा मल्हम लगाउनु छोडेर हाम्रा केहि सर्वगुण सम्पन्न कम्युनिस्टका हेड मास्टरहरूले लगातार घाउ कोतर्ने काम गरि रहनु भएको छ । के तपाईहरूले कहिले कल्पना गर्नु भएको छ, यसले के कस्ता अवस्था निम्त्याउन सक्छ भनेर ? अझ समय छ, हामी सबै सजग बनौ । मूल्यांकन त समयले गरेकै छ । सबैमा राम्रा गुण मात्रै हुँदैन, नराम्रो गुण पनि हुन्छ । कतिपय जन्मजात र कार्यशैलीगत स्वभाव पनि हुन्छन् । कमजोरी सबैका छन् सबल पक्ष पनि छ । राम्रा-राम्रा गुणहरु मिलाएर उन्नत जातको नेकपा बनाउनुस् । बंशाणुगत सुधारको खाँचो छ । विकल्प नभएर मान्छेहरु अडिएका छन् । हुनासाथ लाग्न सक्छ त्यो खतरा छ ।
बेलैमा सचेत हुनुहोस् । “भाइ फुटे गवार लुटे” केही समस्या भए छलफल विचार बिमर्श गरेर निश्कर्ष निकालौ, सामाजिक संजालमा कसैले पनि भध्दा गतिविधि प्रदर्शन नगरौ । हामी कसैले पनि नभुलौ अहिले सिङ्गो विश्वनै कोरोना भाइरस बिरुद्धको अघोषित तेस्रो विश्वयुद्धमा छ र त्यसबाट नेपाल र हामी कोहि नेपाली पनि अछुतो छैन । एकै गन्तव्य, एकै सोच र एउटै सिद्धान्तका सहयात्रीहरू प्रति बैरी अनि जानी-दुस्मन झैं एकले अर्कालाई सिध्याउने फोहोरी गेम नखेलौं । अनि राम्रोसँग जोत्दै गरेको गोरुको पुच्छर निमोठ्न पट्टी कोही पनि नलागौ । अर्को आवधिक निर्वाचन आइ नि हाल्छ हो कमरेड हो ! त्यत्ती त धैर्य गरौं । आपसमा मिलेर काम गर्नुहोस । कमरेडहरु ! आफ्नै घर पोलेर खरानी बेच्न खोज्नु कत्तीको बुद्दिमतापूर्ण मानसिकता हो कृपया मनन गरौं ।







