निबन्धकार एवं समालोचक प्रा. राजेन्द्र सुवेदीको तेस्रो उपन्यास ‘धितो कोख’को लोकार्पण भएको छ ।
ऐरावती प्रकाशन प्रा.लि.का अध्यक्ष रामदेव पाण्डेयको अध्यक्षतामा आयोजित समारोहमा प्रा.डा. बासुदेव त्रिपाठीले सो उपन्यासको लोकार्पण गर्नुभएको हो ।
समारोहमा लोकार्पण गरिएको कृतिबारे समिक्षा गर्दै डा. रामप्रसाद ज्ञवालीले प्रा. सुवेदी सिर्जना, समालोचना, सम्पादन र प्राध्यापनका एकमुष्ठ स्वरूप कुशल व्यक्तित्व हुनुहुन्छ भन्नुभयो ।
उहाँले लामो समय लगाएर, अनुसन्धान गरेर योजनाबद्धरूपमा लेखिएको यो उपन्यासको प्रस्तुतिको शैली नितान्त नौलो रहेको टिप्पणी गर्नुभयो । उक्त उपन्यासले रितम्बरा नामक पात्रको संस्मरणात्मक जीवनकथा समेटेको छ ।
रितम्बरालाई द्वन्द्वपीडित महिला, राज्यबाट पाउने क्षतिपूर्तिको रकम पनि उनी जिउँदै छँदा अरूले नै खाईदिएको पीडा भोग्नुपरेको हुन्छ । बच्चा जन्माइदिन आफ्नो कोख भाडामा प्रयोग गर्नेले पछि लिन अस्वीकार गरेकोलगायत यावत हिंसापीडित महिलाको कथालाई समेटेको छ ।
साथै विदेश जाने भिसा पाउनका लागि पनि विवाहको नाटक गर्ने प्रवृति बढेको, कोख धितो राख्नु भनेको आफ्नो अस्तित्व र स्वाभिमान गुमाउनु हो भन्ने पीडा अभिव्यक्त भएको उपन्यासले समाजको वर्तमान चित्र उतारेको उहाँले बताउनुभयो ।
उपन्यासको आवरणचित्र बनाउनुभएका नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले उपन्यासको शीर्षक नै अनौठो र विषयवस्तु पनि नौलो लागेको बताउनुभयो । उहाँले आफुले सो उपन्यासको आवरण डिजाइन गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
नेकपाका नेता एवं साहित्यकार दीनानाथ शर्माले आफु खरो माओवादी रहेको र सुवेदी सर खरो समालोचक हुनुभएको भए पनि आफु साहित्यका विद्वानका प्रति अगाध आस्था राख्ने र सम्मान पनि गर्ने व्यक्तित्वमध्ये पर्नुहुन्छ भन्नुभयो ।
राजनीतिमा संलग्न हुँदा हुदै साहित्यको शीतल छहारी खोज्ने प्रयत्नस्वरूप प्रकाशित मेरो निबन्ध सङ्ग्रहको भूमिका राजेन्द्र सरले लेखिदिनुभएको भनेर गुन लगाउनुभएको थियो, उहाँको उपन्यास लोकार्पण भएकोमा शुभकामना दिन्छु भन्नुभयो ।






