माइती नेपाललाई आत्मनिर्भर बनाउने उद्धेश्य
काठमाडौँ, १९ साउन । बलराम प्यासी । विगत २३ वर्षदेखि अमेरिकामा कम्प्युटर सफ्टवेयर र सुरक्षासम्वन्धी उपकरणको व्यवसाय गर्दै आएका सफल युवा व्यवसायी समिर पन्थीको सकृयता तथा माइती नेपालको सहकार्यमा नयाँबानेश्वर चोकमा ‘माइती क्याफे’ (रेष्टुरेन्ट) सञ्चालनमा आएकोे छ ।
पन्थीले नेपालमा यसैवर्ष स्थापना गरेको ‘आफ्नो नेपाल’ को २ करोड ५० लाख रुपैयाँको लगानी तथा ७ वर्षअघि स्थापित माइती नेपालको ‘माइती नेपाल फाउण्डेशन’ को संलग्नतामा च्यारिटी व्यवसाय गर्ने उद्धेश्यले ‘माइती क्याफे’ सञ्चालन गरिएको हो ।
‘माइती नेपाल’ मा आश्रीत छोरीहरुलाई रोजगारी दिँदै संस्थाको लागि नियमित आयस्रोत जुटाउने उद्धेश्यका साथ अलग पहिचान सहित साउन १८ गते शनिबारदेखि अन्तर्राष्ट्रिय स्तरको सो क्याफे सञ्चालनमा आएको हो ।

‘नेपालमा सञ्चालित सामाजिकरकारी संस्थाहरु आत्मनिर्भर हुनुपर्छ, सँधै विदेशी दातामा भर पर्नु हुँदैन’ भन्ने अवधारणाका साथ युवा व्यवसायी पन्थीले ‘आफ्नो नेपाल’ स्थापना गरेका थिए । सो कम्पनीमा पन्थीसहित नेपालको लागि ‘केही गरौं’ भन्ने भावना भएका व्यवसायीक व्यक्तित्वको संलग्नता छ ।
सामाजिक सेवाको उद्धेश्यका साथ व्यवसाय पनि हुनेगरी नयाँ अभ्यासका लागि पन्थीका सहपाठीहरु उपेन्द्र बहादुर श्रेष्ठ, प्रविर शम्शेर राणा र मनिष कोइरालाको संलग्नतामा आफ्नो नेपाल स्थापना गरिएको हो । माइती क्याफे आफ्नो नेपालको पहिलो नमूना व्यवसाय हो ।

सामाजिक उद्धेश्यका साथ २५ वर्षअघि स्थापना भएको माइती नेपाल गैरसरकारी संस्थालाई आत्मनिर्भर बनाउन सञ्चालित यसप्रकारको क्याफे व्यवसाय नेपालकै पहिलो क्याफे हो ।
‘हाइल्याण्ड बिन कफि’को साथै नेपालका गाउँघरमा उत्पादित विशुद्ध अर्गानिक खाद्यवस्तुबाट तयार गरिएका खानेकुरा र मुस्ताङ्गको चिसो ठाउँमा उत्पादित आलु लगायतका परिकार सो क्याफेमा उपलव्ध छ । क्याफेमा सुलभ र सरल मुल्यमा नेपाली र विदेशी परिकारहरु उपलव्ध छन ।

सो क्याफेबाट प्राप्त नाफाको ५१ प्रतिशत माइती नेपाललाई र ४९ प्रतिशत आफ्नो नेपालले क्याफेको व्यवस्थापन र अन्य सामाजिक कामका लागि प्रयोग गरिने बताइएको छ ।
अनुभवी नयाँ जनशक्ति नियुक्त गर्नुका साथै माइती नेपालमा आश्रीत ९ जना छोरीहरुलाई आवश्यक तालीम दिएर क्याफेमा रोजगारी दिइएको सञ्चालक पन्थीले बताए ।

‘यो माइती क्याफे मुलुकमै भिन्न प्रकारको सामाजिक र व्यवसायीक उद्धेश्यका साथ खोलिएको हो’—पन्थीले भने । नेपालमा सञ्चालनमा रहेका हजारौं सामाजिक र गैरसरकारी संस्थाहरुको स्रोत स्वदेश या विदेशी दाताबाट चन्दा संकलन गर्ने मात्रै भईराखेको अवस्थामा हामीले यस्ता संघसंस्था सञ्चालनका लागि स्वदेशमै आयआर्जनको स्रोत बनाउनुपर्छ भन्ने सन्देश दिन माइती क्याफे खोलेका हौ’—पन्थीले भने । यसले माइती नेपाललाई दातामै निर्भर रहनुपर्ने बाध्यता न्युनिकरण गर्ने र माइती नेपालको दिगोपनका लागि सहयोगी हुने पन्थीले विश्वास व्यक्त गरे ।
विभिन्न कारणले घरबाट त्यागिएका, वेचविखन र वलात्कारमा परेका नेपाली चेलीहरुको उद्धार, उनीहरुको शिक्षा, स्वास्थ्य, रेखदेख, रोजगारी, कानुनी उपचार र समाजमा पुर्नस्थापनाको काममा विगत २५ वर्षदेखि सक्रिय रहेको माइती नेपाललाई आत्मनिर्भर बनाउन नेपालमै पहिलोपल्ट यसप्रकारको व्यवसायीक अवधारणा अघि सारिएको हो । संस्थालाई हाल विदेशी दाताहरुले सहयोग गर्दै आइरहेका छन ।

वहिरा व्यक्तिहरुलाई रोजगारी दिने उद्धेश्यले करीव १५ वर्षअघिदेखि राजधानीमा चेन रेस्टुरेन्ट व्यवसाय ‘द बेकरी क्याफे’ सञ्चालनमा छ । माइती नेपालका छोरीहरुको सहभागितामा सञ्चालन भएको माइती क्याफेले रेष्टुरेन्ट व्यवसायमा नयाँ आयाम थप्ने सञ्चालक पन्थीको दावी छ ।
माइती नेपालका अध्यक्ष विश्वराम खड्काले उद्घाटन गरेको माइती क्याफे उद्घाटनका अवसरमा माइती नेपालकी संस्थापक अध्यक्ष एवम् ३ नं प्रदेशकी प्रदेश प्रमुख अनुराधा कोइराला, सर्वाेच्च अदालतका न्यायधिश सपना मल्ल प्रधान तथा एसियाको नोबेल पुरस्कार मनिने रामोन म्यागासेसे पुरस्कारबाट पुरस्कृत शक्ति समुहकी संस्थापक चरिमाया तामाङ लगायतको सहभागिता थियो ।

यसअघि युवा व्यवसायी पन्थीले चेलीवेटी वेचविखन पत्ता लगाउने सफ्टवेयर सहित नेपाल र भारतको विभिन्न नाकामा निगरानी गर्नका लागि ‘खोजी एप’ सहितको मोवाइल फोन, मनिटर र सिसिटिभि लगायतका प्राविधिक सामाग्री माइती नेपाललाई उपहार दिईसकेका छन ।








