काठमाडौँ, १३ मंसिर । अभिनेत्री केकी अधिकारीले आफ्नो संलग्नता र अनुमतिबिना एक गेमिङ एपले नाम तथा तस्बिर प्रयोग गरिरहेको भन्दै गम्भीर आपत्ति जनाएकी छन् । सामाजिक सञ्जालमार्फत एक पोस्ट सार्वजनिक गर्दै उनले उक्त एपसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन् ।
आफ्नो पहिचानको अनधिकृत प्रयोग भइरहेको उल्लेख गर्दै अभिनेत्री अधिकारीले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन् । तत्काल नाम र तस्बिर नहटाइएमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने चेतावनी उनले दिएकी छन् ।
यस विषयमा सचेत रहन सबैलाई अनुरोध गर्दै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु । उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन । मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ । तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु । अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु । कृपया यसबारे सचेत रहनुहोला ।’






